२०८१ भाद्र २३
                           

मध्यपहाडी लोकमार्ग निर्माणले खेत र बस्तीमा क्षति

रामकृष्ण थापा- मध्यपहाडी लोकमार्ग सिन्धुपाल्चोक खण्डमा काम गर्ने निर्माण कम्पनी गोल्डेन ग्रुपको लापरबाहीले किसानको खेतबारी र बस्तीमा क्षति पुर्‍याएको छ । तीन भागमा विभाजित सिन्धुपाल्चोक खण्डको बन्देउदेखि बाहुनेपाटीसम्म सडक किनारमा किसानको खेत पुरेको छ ।

स्थानीय दधिराम पराजुलीको अनुसार दुई सय रोपनी खेत पुरेको हो ।  खेतमात्रै होइन, सिँचाइ कुलो पनि क्षतविक्षत पारेको छ । खहरे खोलाछेउमा सडक खन्दा गएको पहिरोले एक सय रोपनी खेत पुरेको छ । पुरेको खेत उकास्ने र सम्याउने, भत्किएका सिँचाइ कुलो मर्मत गर्ने र बग्न लागेका बस्तीमा वाल निर्माण गर्ने पूर्वसहमति गोल्डेन ग्रुपले पालना गरेको छैन । बन्देउछेउमा रहेको पोखरे गाउँ बग्ने अवस्थामा छ । तर, ठेकेदार कम्पनीले स्थानीयको मर्का बुझेको छैन । सडक निर्माण गरेर नालीसमेत तयार हुन लागेको छ ।

कालोपत्रे गर्न तयारी पारेको सडक किनारमा किसानको खेतबारी भने पुरेको अवस्थामा जस्ताको तस्तै छ । स्थानीय किसान माझी समुदायले भिमटार र जामुनेमा सिँचाइ लगिएको ठूलासाना एक दर्जन कुलो सडक निर्माणपछि पुरिएकोले खेती लाउन समस्या भएको गुनासो पोखे । चौतारा साँगाचोकगढी–११ मा बढी क्षति पुगेको छ । मध्यपहाडी लोकमार्गको सिन्धुपाल्चोक खण्डमा तीन भाग छन् ।

अरनिको राजमार्गबाट काभ्रेपलान्चोक जिल्ला जोड्ने भागमा मोटरेबल पुल निर्माणको चरणमा छ । बन्देउदेखि बाहुनेपाटीसम्म ट्र्याक सकिएर नाली बनाउने काम अन्तिम चरणमा छ । बाहुनेपाटीमा इन्द्रावती नदी क्रस गर्ने मोटरेबल पुल तयार भइसकेको छ । तेस्रो भाग बाहुनेपाटीबाट नुवाकोट जिल्ला जोड्ने सीमासम्मको काम जारी छ । सिन्धुपाल्चोक खण्ड ५४ किलोमिटर हो ।

चौतारा साँगाचोकगढी नगरपालिका– ११ का वडाध्यक्ष रोशन गिरीले ठेकेदार कम्पनीको बल मिच्ले सीमा नाघेको बताए । दुई सय रोपनी खेत, एक दर्जन सिँचाइ कुलो, गाउँघर आवतजावत गर्ने थुप्रै गोरेटो बाटो पुरेको र कतिपय बस्ती बग्ने जोखिममा रहेको जानकारी दिए । नगरपालिकाले पटकपटक चिठी पठाएर छलफलका लागि बोलाउँदा ठेकेदार गेल्जे शेर्पाले टेरेनन् । खेतबारी र बस्तीमा व्यापक क्षति पुगेकाले वेलावेलामा स्थानीले सडक निर्माणसमेत अवरुद्ध पार्दै आएका छन् ।

भत्किएको सिँचाइ कुलो जोड्न पाइप खरिद भइसकेको गोल्डेन ग्रुपका प्रमुख शेर्पाले बताए । ‘क्षति पुगेको ठाउँ पहिचान गरेर निर्माण गर्छौँ,’ उनले भने । तर, स्थानीय उनको भनाइमा विश्वस्त छैनन् । उनले यसैगरी पटक–पटक ढाँटेका छन् । बर्खा लागेकाले सडक खन्दा थुप्रिएको माटो भारी वर्षाले बगाउँदा थप खेतबारी पुर्ने अवस्थामा छन् । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्