२०८१ भाद्र २३
                           

रेडक्रसको विशेष महाधिवेशन बोलाइयो

(निर्वाचन रोक्न नियोजित षडयन्त्र हुनसक्ने आशंका)

विगत लामो समयदेखि कार्यसमिति विहिन रहेको नेपाल रेडक्रस सोसाइटी केन्द्रको निर्वाचन गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पत्र लेखेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौको असार ११ गतेको पत्रानुसार आगामी असार २७ र २८ गते काठमाण्डौमा सञ्चालन हुने गरी नेपाल रेडक्रसले केन्द्रीय कार्यसमितिको निर्वाचन सहितको विशेष महाधिवेशन बोलाएको हो ।

सम्मानित सर्वोच्व अदालतमा नेरेसोसंगको विवादको सम्बन्धमा परेको रीट निवेदनहरुको मुद्दाका सम्बन्धमा निर्वाचनलाई नै केन्द्रित गरी कार्य गर्नपर्ने भनी विभिन्न मितिमा आदेश फैसला भएतापनि राजनैतिक नेतृत्व परिवर्तनसंगै त्यसको प्रभाव रेडक्रसमा पर्ने र निर्वाचनमा एकअर्का वीच भाँजोहाल्ने गर्दै आएका थिए ।

संस्था नविकरण हुन बाँकी हुंदा र केन्द्रीय कार्यसमितिको निर्वाचन प्रकृयाबाट कार्यसमिति गठन नहुंदा रेडक्रसको सबै तहहरुमा प्रत्यक्ष परोक्षरुपमा संस्थागत कठिनाई आएको भन्दै केन्द्रीय समितिको निर्वाचन तथा रेडक्रस संस्था नविकरण यथासम्भव छिटो सम्पन्न गर्न सिन्धुपाल्चोक लगायत ६० भन्दा बढी जिल्ला शाखाले अनुरोध गरेका थिए ।

नेपाल सरकारद्धारा पटकपटक गठित केन्द्रीय तदर्थ समितिको म्याद सकिने, केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि पटकपटक मिति तय हुने, स्थगन हुने, लामो समय देखि केन्द्रीय समिति नै शुन्य हुने जस्ता घट्नाक्रमको आगामी निर्वाचनले अन्त्य हुने रेडक्रसकर्मीले विश्वास लिएको छ ।

तोकिएको समयमा फेरी पनि निर्वाचन नहुने वा निर्वाचन रोक्ने नियोजित षडयन्त्र र भ्रममा नपरी निर्वाचन सम्पन्न गर्न गराउन सम्बद्ध निकायमा नेपाल सरकारद्धारा २०७९ जेष्ठ ३१ गते गठित तदर्थ समितिका अध्यक्ष प्रा.सुदर्शन प्रसाद नेपालले विज्ञप्ती जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्