२०८१ भाद्र २३
                           

शब्द सारथिले २१०औँ भानु जयन्ती मनायो

चौतारा ,२९ असार – सिन्धुपाल्चोकको चौतारामा हरेक शुक्रबार सञ्चालन हुँदै आएको शब्द सारथिको सुन्ने सुनाउने शृङ्खलामा यसपटक आदिकवि भानुभक्त आचार्यलाई सम्झना गरिएको छ । नियमित साहित्य सिर्जना सुन्ने सुनाउने साप्ताहिक शृङ्खला सञ्चालन गर्दै आएको शब्द सारथिले आचार्यको २१०औँ जन्मजयन्ती अवसरमा ‘१ सय ४७औं भानु विशेष शृङ्खला’ सञ्चालन गरेको हो । चौताराको शहीदचोक स्थित कञ्चन स्मृतिग्राम पुस्तकालय सञ्चालन गरिएको शृङ्खलामा स्रष्टाहरुले आदिकवि भानुभक्तलाई समर्पित गर्दै कविता वाचन गरेका थिए ।

‘नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ’, शृङ्खला सञ्चालनको सुभारम्भ गर्दै शब्द सारथिका सचिव सुन्दर शिरीषले भने– ‘भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता हो ।’

विशेष शृङ्खलामा शब्द सारथिका अध्यक्ष अमित घिमिरेले भानुभक्तको सिर्जना र व्यक्तित्वको बारेमा चर्चा गरेका थिए । आफ्नो सिर्जनासहित संक्षिप्त मन्तव्य राख्दै घिमिरेले नेपाली भाषालाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेका आदिकविबारे प्राज्ञिक रुपमा बहस हुनुपर्ने बताए ।

 

कार्यक्रममा कञ्चन स्मृतिग्राम पुस्तकालयका अध्यक्ष, साहित्यकार एवम् पत्रकार सुरेश कजजूले भानुजनन्तीको शुभकामना दिएका थिए । स्रष्टा, साहित्यकार, सञ्चारकर्मी, बुद्धिजीविको बाक्लो उपस्थितिमा भएको भानु विशेष शृङ्खलामा भानुभक्तकृत कृति ‘रामायण’, ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, लगायत फुटकर रचनाको बारे चर्चा परिचर्चा गरिएको थियो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनि अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको विभिन्न सोधग्रन्थमा पाईन्छ ।

शब्द सारथिले हरेक शुक्रबार सुन्ने र सुनाउने साहित्यिक शृङ्खला सञ्चालन गर्दै आएको छ । संस्थाले साहित्यको प्रबद्र्धनको लागि विशेष शृङ्खलाहरु सञ्चालन गर्दै आईरहेको छ । ‘न्यायको लागि कविता’, ‘पर्यटन प्रबद्र्धनको लागि साहित्य’, ‘सिन्धु–दार्जालिङ साहित्य यात्रा’, ‘पोखरेली स्रष्टासँग सिन्धु स्रष्टा,’ ‘सिन्धु साहित्य उत्सव’, ‘स्रष्टा सम्मान’ जस्ता महत्वपूर्ण साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको शब्द सारथिले कविता, गजल, मुक्तक, हाईकु, बालसाहित्य विशेष शृङ्खला समेत सञ्चालन गरेको जनाएको छ ।(GLOBALPATEE)

प्रतिक्रिया दिनुहोस्