२०८१ मंसिर ६
                           

साहित्य एवम् समाजसेवी भद्रकुमारी घले सम्मानित

काठमाडौ । साहित्यकार, समाजसेवी, चित्रकार एवम् राजनीतिक धरोहर भद्रकुमारी घले सम्मानित हुनुभएको छ । लि : ल फङ ( घले समाज ) सिन्धुपाल्चोकले शनिबार,काठमाडौमा घलेलाई अभिनन्दन गरेको हो । समाजका अध्यक्ष रामबहुदुर घलेले देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनमा घलेलाई दोसल्ला ओढाएर सम्मानपत्र अर्पण गर्नुभएको समाजका सचिब नेत्र घलेले बताउनुभयो ।

सो अवसरमा अभिनन्दन हुनु भएकी घलेले जिन्दगीभर आफूले सामाजिक कार्यका लागि प्रयोग गर्दै आएको सेवा सदनको सम्पत्तिमाथि स्थानीय सरकारको बक्र दृष्टि परेको हुनाले सो जोगाउनका लागि सबैको सहयोग अपरिहार्य रहेको बताउनु भयो । पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले घलेको राजनीतिक, सामाजिक, साहित्यिक र चित्रकारिता जीवनको चर्चा गर्दै घले राष्ट्रकै निधी भएको उल्लेख गर्नुभयो ।

घले समाजका सचिव नेत्र घले, आकृति घलेले साहित्यकार घलेले बिविध क्षेत्रमा पुर्याएको योगदानबाट अहिलेको पुस्ताले अनुकरण गर्नुपर्ने बताउनु भयो । १९८८ सालमा जन्मनु भएकी घलेको विविध विषयमा लेखिएको १९३ वटा पुस्तक प्रकाशन छन् । २०१८ सालमा राजनीतिक जीवनमा होमिनु भएकी घले राष्ट्रिय पन्चायत सदस्य र मन्त्री समेत हुनुभयो । सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय उहाँ पछिल्लो समय भने लेखन र सामाजिक सेवामा समर्पित हुनुहुन्छ । दीपक राइद्वारा संचालित कार्यक्रम रामबहादुर घलेको अध्यक्षतामा भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्