२०८१ भाद्र २३
                           

वैदेशिक रोजगारबाट फर्केका महिला बारे सञ्चारकर्मीको चासो

कल्पना श्रेष्ठ / चौतारा

वैदेशिक रोजगारबाट फर्किएका आदिवासी जनजाति महिलाहरुको जिविकोपार्जनका लागि वातावरण निर्माण गर्नुपर्नेमा सञ्चारकर्मीहरुले जोड दिएका छन् ।
आर्थिक उपार्जनका लागि जोखिम मोलेरै भए पनि वैदेशिक रोजगारमा गएका तर फर्केपछि अधिकाँश जनजाति महिलारुको अवस्था उस्तै रहेको निष्कर्ष निकाल्दै त्यस्ता महिलाहरुको पहिचान गरि उनीहरुलाई जिविकोपार्जनमा जोड्नु पर्ने राय सिन्धुपाल्चोकका सञ्चारकर्मीहरुले दिएका हुन् ।

बैदेशिक रोजगारबाट फर्केका आदिवासी महिलाहरुको
समस्या, अवस्था र जिविकोपार्जन सम्बन्धी सञ्चारकर्मीहरुसंगको एकिदिने छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारबाट फर्केका महिलाहरुलाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन गर्दै सामाजिक, पारिवारिकरुपमा पूनर्स्थापना गर्दै रोजगारी र आयआर्जनमा संग्लन गराउनु पर्ने बताउनुभयो । अधिकाँश महिलाहरुले विदेशमा पैसा कमाएर परिवार वा श्रीमानलाई पठाउने र ती पैसाको सही सदुपयोग हुन नसक्दा कमाउने महिलाको अन्तिममा हातमा लागे शुन्य हुने गरेको अध्यक्ष श्रेष्ठको भनाई थियो ।
वरिष्ठ पत्रकार सुरेश कसजूले वैदेशिक रोजगारबाट फर्केका महिलाहरुको आर्थिक अवस्थामा खासै परिवर्तन नआएको जिगिर गर्दै सबैले आआफ्नो भूमिकालाई शशक्त बनाउन सुझाव दिनुभयो । कान्तिपुरकर्मी कमला पाख्रीनले कमाएर ल्याएको रकमको सही सदुपयोग नगरेका कारण जानजाति महिलाहरूको आर्थिक अवस्थाले फड्को मार्न नसकेको बताउनु भयो ।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चद्वारा चौतारामा आइतबार आयोजित छलफल कार्यक्रममा फोनिज सिन्धुपाल्चोकका अध्यक्ष लालकाजी तामाङ, सञ्चारकर्मी अर्जुन शर्मा स्मृति दंगाल, लगायतले वैदेशिक रोजगारबाट फर्केका आदिवासी जनजाति महिलाहरुको आर्थिक, मानसिक अवस्था, समस्या र समाधानको विषयमा टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण आयोजक संस्था राष्ट्रिय आदिवासी महिला मञ्चकी माला राईले गर्नु भएको थियो ।

बिसौनी

प्रतिक्रिया दिनुहोस्