जीवन श्रेष्ठ– जिल्लाकै कर्णाली भनेर चिनिने जुगलमा गएको वर्षबाट किसानहरू आलु खेतीतर्फ आकर्षित भएका थिए । त्यसअघि यहाँका किसानहरुले निर्वाहका लागि मात्र आलु खेती गर्दै आएका थिए ।
पछिल्लो समय व्यावसायिक रूपमै किसानहरू आलु खेतीतर्फ आकर्षित हुन थालेपछि बजार व्यवस्थापनका लागि जनप्रतिनिधिहरूकै पहलबाट राजधानीमा आलु निर्यात हुन थालेको हो ।
हिमाली चिसो हावामा उत्पादित अर्ग्यानिक लेकाली आलुले राजधानीमा राम्रै बजार पाउने जुगल गाउँपालिका ६ का वडाध्यक्ष टङ्क तामाङले बताउनुभयो । हालसम्म करिब ३ टन आलु विक्री वितरणका लागि राजधानी निर्यात भइसकेको उहाँले जानकारी दिनुभयो ।
आफूले उत्पादन गरेको आलुले बजार पाउन थालेपछि किसानहरू पनि हौसिएका छन् । हिमाली भेगमा अन्य उब्जनी नहुने र आलु खेतीको सम्भावना बढी हुने भएकोले व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएको किसान चन्द्रबहादुर श्रेष्ठ बताउनुहुन्छ । वडा कार्यालयले नै निःशुल्क आलु ढुवानी सेवा प्रदान गरेको र राजधानीमा आलुको माग पनि बढेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।
यसअघि आलु रोप्ने गरेता पनि बेचबिखनका लागि खेती नगरेको किसान देवीबहादुर श्रेष्ठको भनाइ छ । वडा कार्यालयले नै बिक्री वितरणको जिम्मेवारी लिएर आलु खेती गर्न प्रोत्साहन गरेपछि आफूहरू आलु खेतीतर्फ आकर्षित भएको उहाँको भनाई छ ।
वडाध्यक्ष तामाङका अनुसार यो वर्ष वडा नं. ६ मा मात्र झण्डै १२ टन आलु उत्पादन भएको छ । वर्षा मासमा गाउँसम्म गाडी नजाने हुँदा यसअघि नै आलु ढुवानीलाई लक्षित गरी बाटो सोलिङ र स्तरोन्नति गरिएको उहाँले जानकारी दिनुभयो । उत्पादित आलु बजारसम्म पुर्याउनका लागि वडाबाट डेढ लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
आम्दानीको अन्य गतिलो आयस्रोत नभएको कारण आलु उत्पादनले स्थानीयको आयआर्जनमा महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष रेशम स्याङ्वोले बताउनुभयो ।
जुगलको मुख्य बजार ढाँडेमा कृषि उपज सङ्कलन केन्द्र निर्माण हुँदै गरेको जानकारी दिँदै सङ्कलन केन्द्र निर्माण सकिएपछि किसानहरूलाई थप राहत हुने अध्यक्ष स्याङ्वोको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्