२०८१ भाद्र २३
                           

डा. उर्मिला प्याकुरेल नेपालकी कान्छी प्राध्यापक

चन्द्रप्रसाद न्याैपाने-  प्रा.डा. उर्मिला प्याकुरेल (मधुश्री) सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नं. ३ कालिका उखुबारीमा २०३७ साल असार ६ गते पिता देवीनाथ प्याकुरेल तथा माता मनमाया प्याकुरेलबाट जन्मिएकी हुन् । यिनी ६ दाजुभाइ तथा ५ दिदीबहिनीमध्ये ११ औँ अर्थात् सबैभन्दा कान्छी हुन् । यिनको विवाह भएन ।
उर्मिलाका दाजु उद्धवप्रसाद प्याकुरेलका अनुसार श्री कालिका आधारभूत विद्यालय, उखुबारीबाट ८-९ वर्षको उमेरदेखि अर्थात् २०४५ सालबाट प्रराम्भिक शिक्षा लिन थालेकी उर्मिलाले कक्षा ४-५ श्री जनजागृति मा.वि, पुरानाकोटमा र कक्षा ६-१० सम्म श्री बाघभैरव मा.वि. ठोकर्पामा पढेकी हुन् । श्री बाघभैरव मा.वि. ठोकर्पाबाट २०५५ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी उर्मिलाले २०५७ सालमा पाटन संयुक्त क्याम्पसबाट आइएस्सी, २०६१ सालमा त्रिचन्द्र कलेजबाट बिएस्सी र २०६३ सालमा त्रिभुवन विश्व विद्यालयबाट एमएस्सी गरेकी हुन् ।
वि.सं. २०६६ देखि २०६९ सम्म सममिट मावि. मा शिक्षण पेसामा संलग्न रहेकी उर्मिला २०६८ साल मङ्सिर ६ गतेबाट उपप्राध्यापकमा खुला नियुक्ति भएकी थिइन् । यिनले वि.सं. २०७३ सालमा विद्यावारिधिको उपाधि पाएकी हुन् । २०७६ साल साउन ७ गते सहप्राध्यापकमा खुला नियुक्ति पाएकी उर्मिला लगत्तै २ वर्षपछि २०७८ साल चैत ११ गते प्राध्यापक पदमा नियुक्ति भएकी थिइन् । यिनी जन्मले ३९ वर्ष १ महिना १ दिनको हुँदा सहप्राध्यापक र ४१ वर्ष ९ महिना ५ दिनको दिन प्राध्यापकमा नियुक्ति भएकी थिइन् भने ३६ वर्षको उमेरमा गणित विषयमा विद्यावारिधिको उपाधि लिएकी हुन् । गणित विषयमा मात्र नभई सम्भवतः समग्र विषयमै यिनी नेपाली महिलामा कान्छी प्राध्यापक हुन् ।
गाउँमा नजिक स्कुल थिएन । २०४५ सालमा घरनजिकै श्री कालिका प्रा.वि स्थापना भयो र उनको कखरा त्यसै दिनबाट सुरु भयो । हुने बिरुवाको चिल्लो पात भने झैँ उनी तल्लो कक्षादेखि नै उत्कृष्ट नतिजा हाँसिल गर्दै गइन् । उनले कक्षा आठमा अध्ययन गर्दागर्दै उत्कृष्ट छात्रा छनोटमा परेर जापान भ्रमण गर्ने अवसर प्राप्त गरेकी थिइन् ।
विद्यालयतहदेखि नै साहित्यमा रुचि राख्ने प्याकुरेलले राष्ट्रिय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी थिइन् । यिनले सन् २०१७ नोभेम्बरदेखि २०१९ अक्टोबरसम्म अलेक्जेन्डर फन्ड हम्बोल्ड फाउन्डेसन जर्मनीमा महाविद्यावारिधि अनुसन्धाता तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) बाट सन् २०१६ मा युवा वैज्ञानिक पुरस्कार प्राप्त गरेकी थिइन् । उर्मिलाले अध्ययन अनुसन्धानका क्रममा जापान, जर्मन र फिलिपिन्सको भ्रमण गर्ने अवसर पाएकी थिइन् । यिनको अनुसन्धान काठमाडौँको ट्राफिक समस्या समाधान गर्न गणितको व्यावहारिक प्रयोगमा केन्द्रित बनेको थियो ।
अनुसन्धानका क्रममा उनी नेपाल तथा विदेशका प्राज्ञिक सङ्घ संस्थाहरूमा संलग्न भई सक्रिय थिइन् । एक निम्नमध्यम वर्गीय परिवारमा जन्मिएर यो सफलता हासिल गर्नु उक्त परिवारका लागि गर्वको विषय थियो । उनको अध्ययन अध्यापन कार्यमा परिवारको महत्वपूर्ण हौसला र सहयोग रहेको पाइन्छ । उर्मिलाका अनुसन्धानात्मक लेखहरू अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन् । यिनका लगभग १५० ओटा फुटकर गीतकविता ‘मधुश्री’ को नामबाट विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । लगभग एक दर्जन गीतिकथा रेडियो नेपालको मधुवन कार्यक्रमबाट प्रसारित छन् । उर्मिलाले लगभग २०० पृष्ठको स्मरण लेखेकी छिन् । यिनको एमएस्सी अध्ययनदेखि पिएचडी एवम् अनुसन्धानात्मक कार्यको सफलतामा डा. फादर प्रा.डा. टङ्कनाथ धमलाको योगदान महत्त्वपूर्ण रहेको बुझिन्छ ।
सन् २०१७ मा महाविद्यावारिधिका निमित्त जर्मनमा रहँदा उनलाई क्यान्सर देखियो । उनले २ वर्षसम्म जर्मनमै क्यान्सरको उपचार गरिन् । सन् २०१९ मा नेपाल फर्किएपछि पनि लगातार क्यान्सरको उपचार गराइरहिन् तर २०७९ कार्तिक मङ्सिरदेखि किमोले उनको शरीरमा काम गर्न छाड्यो । अन्तिम समयसम्म पनि निको हुने र ससक्त रूपमा आफ्नो अनुसन्धानका कार्य सफल बनाउने कुरामा उनको आत्मविस्वास कायमै थियो तर त्यो समस्यासँग लड्दालड्दै ४२ वर्षको उमेरमा मिति २०७९ साल चैत्र २९ गते उनको निधन भयो ।
उनको सम्झनामा परिवाजनको नेतृत्वमा “प्रा.डा. उर्मिला प्याकुरेल प्रतिष्ठान” दर्ता भएको छ । प्रतिष्ठान सञ्चालनका लागि ५० लाखभन्दा बढी आर्थिक सहायता जुटिसकेको छ । प्रतिष्ठानले आगामी दिनमा शैक्षिक एवम् साहित्यिक क्षेत्रका उत्कृष्ट प्रतिभाहरूलाई पुरस्कृत गर्नुका साथै विविध सामाजिक काम गर्ने उद्देश्य राखेकाे छ ।
सिन्धुपाल्चोककाे माटाेमा जन्मिएकी एक हाेनाहार प्रतिभाप्रति हार्दिक श्रद्धाञ्जली !🇳🇵

प्रतिक्रिया दिनुहोस्