२०८१ भाद्र २३
                           

भाषा, संस्कृति संरक्षणका लागि म्हसिका पुच गठन

चौतारा । म्हसिका पुच चौताराले नेपालभाषा संरक्षण र संवद्र्धन गर्ने उदेश्यले नेपाल भाषामा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ ।नेवार संस्कृति, संस्कार र सम्पदाको संरक्षण एवम् विकास, निर्माण र जनजिविकाको क्षेत्रमा महिलाहरुलाई सशक्तरुपमा सहभागि गराउने योजनाका साथ गठन भएको पुचले शनिबार भाषा संरक्षणका लागि नेपाल भाषामा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा नारायणदेवी प्रधानको समूह प्रथम र विना कक्षपतिको समूह दोस्रो भएको पुचकी उपाध्यक्ष गुणकेशरी श्रेष्ठले जानकारी दिनुभयो । गणेश मन्दिर र भीमसेनस्थानसँगै कृष्ण मन्दिर परिसरमा सरसफाई पश्चात सुरु भएको हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिका ५ नम्बर वडा अध्यक्ष शिव श्रेष्ठले धार्मिक सांस्कृति पहिचानका कार्यसँगै विकास निर्माणका कार्यहरुमा पनि महिला सहभागिता अपरिहार्य भएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ सिन्धु शाखा अध्यक्ष जीवन श्रेष्ठले समाज परिवर्तन र रुपान्तरणका लागि महिलाको भूमिका महत्वपूर्ण हुने भएकाले घरभित्र मात्र महिलाहरु सीमित रहन नहुने धारणा व्यक्त गर्नुभयो । सिन्धु नेवा खलका सचिव हरिगोपाल श्रेष्ठले सामाजिक कार्यमा महिलाहरुको अग्रसरताले समाजमा छिट्टै समृद्धि आउने विश्वास व्यक्त गर्नुभयो ।

पुचकी सचिव निर्मला श्रेष्ठले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष सीता श्रेष्ठको सभापतित्वमा भएको थियो ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराको पुरानो बजार खण्डलाई सफा र सुन्दर बनाउँदै साँस्कृतिक, धार्मिक र पर्यटकीय हबको रुपमा विकास गर्ने हेतुले म्हसिका पुचको गठन भएको अध्यक्ष सीता श्रेष्ठले जानकारी दिनुभएका छ ।

प्रतिक्रिया दिनुहोस्