दुई वर्षअघि असार १ गते मेलम्ची नदीमा आएको बाढीले आक्रान्त बनेको हेलम्बु गाउँपालिकाले दुई वर्षपछि पनि उस्तै समस्या झेलेको छ । वर्षेनी विपद्को सामना गर्दै आइरहेको हेलम्बुले यसपटकको मनसुनमा पनि उत्तिकै क्षति व्यहोर्नुपरेको छ ।
मेलम्ची नदीको जल सतह बढ्दा विभिन्न स्थानमा कटान भएको छ । पहिरो र बाढीले मेलम्ची–हेलम्बु मुख्य मार्ग पटकपटक अवरुद्ध भएको छ । दुई वर्षअघि बाढीले घरबास गुमाएकाहरु अझै टहरोमा नै छन् । उनीहरुलाई स्थायी बासस्थानमा स्थानान्तरण गर्न सकिएको छैन ।
मेलम्ची हेलम्बुको शैक्षिक क्षेत्र एवम् सो भेगकै पुरानो विद्यालय सरस्वती मावि ग्याल्थुमको भवनमा बाढीबाट ठूलो क्षति पुगेको छ । शनिबार मेलम्चीमा आएको बाढीले विद्यालयको दुई वटा शौचालय र एउटा भवन नै बगाएको छ ।
आसपासका स्थानीय रातभर जाग्राम बस्नुपर्ने बाध्यताको सिर्जना भएको छ । हाइटेन्सन लाइनको पोल ढल्दा हेलम्बुबासी अन्धकारमा बस्न बाध्य भएका छन् ।
बर्खायाममा बढ्दो क्षति न्यूनीकरण, पुनस्र्थापन र विपद व्यवस्थापनका लागि पालिकाको एकल प्रयासले सम्भव नहुने भएकाले गत बुधबार पालिकाले पत्र लेखेर बागमति प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौंडामा जानकारी गराएको थियो । तर मन्त्रालयले हेलम्बुको दर्दनाक समस्या समाधान गर्न सिन्को नभाँचेको आरोप पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको छ । उनले प्रदेश सरकार अविवेकी भएको आरोप समेत लगाएका छन् ।
प्रदेश सरकारबाट विपदको समयमा सुको सहयोग प्राप्त नभएको उनको भनाई छ । तर ललितपुर महानगरपालिकाले १२ लाख सहयोग उपलव्ध गराइएकोमा अध्यक्ष शेर्पा गद्गद् छन् । उनले जिल्लाका प्रदेश र संघीय सांसदलाई व्यङ्ग्य कस्दै भनेका छन्, ‘गफ र हल्ला ठूलो गरेर मात्र के होला र ?’जनआस्था
प्रतिक्रिया दिनुहोस्