२०८१ भाद्र २३
                           

कहीँ नभएको जात्रा भित्तामा

भित्तामा पनि जात्रा हुन्छ र ? धरैको प्रश्न उठ्न सक्छ । तर, सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा भने भित्तामा जात्रा मनाउने चलन चल्दै आएको छ । विगत ४५ वर्षदेखि हरेक वर्ष गाईजात्राको अवसरमा त्यहाँस्थित कृष्ण मन्दिरको भित्तामा हाँस्यव्यंग्यले राम्रै स्थान पाउँदै आएको हो ।

सामाजिक, राजनीतिक, शैक्षिक, साँस्कृतिक र प्रशासनीकलगायतका गलत प्रवृत्तिविरुद्ध अभिनय, गीतसंगित, संवाद र कार्टुन चित्रबाट व्यंग्य गर्ने चलन रहेपनि जिल्लाको सवालमा भने वर्षको एकपटक कृष्ण मन्दिरमा टाँस्ने गरेको व्यंगात्मक भित्ते पत्रिका नै गतिलो माध्यम र सिंगो गाईजात्राकै आकर्षणको केन्द्र बन्दै आएको छ ।

ठूलाठूला पेपरमा मार्करपेनले लेखिएका  सामाग्रीहरु पढ्नका लागि ठूलो संंख्यामा स्थानीयको उपस्थिति रहने गर्छ । राष्ट्रिय र स्थानीय राजनीतिक, सामाजिक, साँस्कृतिक विकृति र विसंगतिविरुद्धका सामाग्रीले व्यँग्य कस्ने मात्र हैन, विकृति विसंगति हटाउनका लागि महत्वपूर्ण भूमिका खेल्न गरेको स्थानीय रविन्द्र श्रेष्ठ बताउँछन् ।

पञ्चायतकालमा खासगरी जनताका सबै अधिकारहरु कुण्ठित गरिएको थियो । सो समयमा न त व्यवस्थाको बारेमा बोल्न नै पाइन्थ्यो, न स्थानीय प्रशासनको बारेमा नै । स्थानीय प्रशासन र व्यवस्थाको ज्यादतीबाट हैरान भएका स्थानीय युवाहरुले २०३५ सालको गाईजात्राबाट यो प्रचलनको सुरुवात गरेका हुन् ।

अरु बेलामा व्यवस्था र  स्थानीय प्रशासनको ज्यादतीविरुद्ध बोल्न नपाए पनि गाईजात्राको दिन लेखेर वा अन्य माध्यमबाट व्यँग्य गर्न पाइने भएकाले आफूहरुकै सकृयतामा यो चलनको सुरुवात गरेको पूर्वसांसद कृष्णराज श्रेष्ठ बताउँछन् । सुरुवाती चरणमा हरेक खालका विकृति र विसंगतिको चिरफार गर्ने उद्धेश्य रहेता पनि पछिल्लो चरणमा भने व्यक्ति केन्द्रीत, अश्लिल र छाडा सामाग्रीहरु बढी भएको उनले टिप्पणी गरे ।

बिहीबार टाँसिएका सामाग्रीहरुमा राष्ट्रिय राजनीति, सामाजिक, सांस्कृतिक विसंगतिमाथि मात्र मात्र व्यँग्य हानिएको छैन, स्थानीय राजनीतिकर्मी, प्रशासक र संधै अरुको बारेमा लेख्ने सञ्चारकर्मीहरुको गलत चरित्र र प्रवृत्तिमाथि पनि चोटिलो प्रहार गरिएको छ ।जन आस्थाबाट साभार

प्रतिक्रिया दिनुहोस्