२०८१ भाद्र २३
                           

संस्कृति संरक्षणका लागि छोराबुहारी सक्रिय

जिल्ला सदरमुकाम चौतारा पुरानो बजारका नेवार समुदायभित्रका छोराबुहारी भाषा, कला संस्कृति संरक्षणका लागि जुटेका हुन् ।

बढ्दो आधुनिकताका कारण समुदायभित्रको नेपाल भाषा, संस्कृति र कला मारमा परेको भन्दै विभिन्न कार्यक्रममार्फत संरक्षण अभियानमा जुट्न थालेका हुन् । भाषा संरक्षणका लागि हरेक हप्ता सबै महिलाहरूलाई उपस्थित गराई नेपाल भाषाको प्रशिक्षण, अभ्यास र हाजिरी जवाफ कार्यक्रम गर्दै आएको म्हसिक पुचकी अध्यक्ष सीता श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै नेवारी बजा र नृत्य संरक्षणका लागि छोराबुहारी आफै सक्रिय भएर लागेका छन् । छोराबुहारीहरुले घिन्ताङघिसी लगायतका नाच र धिमे बजा आफै बजाउन सक्ने भएको सिन्धु नेवा खलका अध्यक्ष माधवलाल कर्माचार्यले बताउनुभयो । खल विगत ३ वर्षदेखि धिमे बाजा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ । प्रशिक्षणमा छोराबुहारीको सहभागिता उल्लेख्य रहँदै आएको छ । यो वर्ष पनि खलले आयोजना गरेको घिन्ताङघिसी र धिमे बाजा प्रशिक्षणमा दुई सयभन्दा बढीको सहभागिता रहेको अध्यक्ष कर्माचार्यले जानकारी दिनुभयो ।

गाईजात्रा, कृष्ण जन्माष्टमी र नेपाल संवत् लगायतका चाडपर्वमा नेवारी कला र संस्कृतिको विशेष प्रदर्शन हुने भएकोले पनि छोराबुहारी आफै संरक्षण र अभ्यासका लागि जुटेका हुन् । संस्कृति संरक्षणको अभियानका कारण सबै महिलाहरू एकै ठाउँमा भेला हुने हुँदा सो अभियानले महिला सशक्तिकरण र सबलीकरणमा पनि टेवा पुर्‍याउने पुचकी उपाध्यक्ष गुणकेशरी श्रेष्ठको भनाई छ ।

सङ्कटमा धाः बाजा
नेपाल संवतको नवौं महिनामा मनाइने गुँला पर्वको अवसरमा बजाइने धाः बाजा लोपोन्मुख भएको छ ।

हरेक वर्ष साउन शुक्ल प्रतिपदाबाट सुरु हुने एक महिने यो पर्वमा खास गरि चौतारामा रहेका कपालीहरूले विभिन्न मन्दिरहरू परिक्रमासँगै यो बाजा बजाउँदै आएका थिए । तर गत वर्षबाट भने यो बाजा बजाउन छाडिएको छ । बाजा बजाउने जनशक्तिको अभाव भएपछि बाजा लोपोन्मुख अवस्थामा पुगेको हो ।

बढ्दो उमेरका कारण बाजा बजाउँदै आएका पुरानो पुस्ता अस्वस्थ हुनु र नयाँ पुस्ताको चासो नबढ्नुको कारण विगत दुई वर्षदेखि यो बाजा बजाउन छाडिएको छ । धिः बाजाको संरक्षणका लागि आफूहरूले योजना बनाइरहेको सिन्धु नेवा खलका उपाध्यक्ष कमलचरण कक्षपति बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्