२०८१ भाद्र २३
                           

बागमती प्रदेश सञ्चार रजिस्टार कार्यालयबाट प्रकाशित विधागत पत्रकारिता हाते पुस्तक विमोचन

विधागत पत्रकारिता हाते पुस्तक विमोचन गरिएको छ । शुक्रबार ललितपुरमा भएको एक कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटा,  प्राध्यापक रामकृष्ण रेग्मी लगायतले पुस्तक विमोचन गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले विमोचन गरिएको पुस्तकले पत्रकार तथा यश क्षेत्रमा रुचि राख्नेहरूलाई उपयुक्त हुने बताए । उनले पुस्तकका लेखक तथा सम्पादकलाई धन्यवाद दिँदै पत्रकार ज्ञान उत्पादन गर्ने श्रमिक रहेको उल्लेख गरे ।

विमोचित पुस्तकले पत्रकारलाई सशक्त बनाउन सहयोगी हुने बताउँदै पत्रकारिताको मुहान सफा गर्न सहयोगी हुने बताए । उनले मन्त्रालय यस्तै सृजनशील कार्यमा अघि बढ्न चाहेको बताउँदै ऐन कानुनका कारण काम गर्न समस्या रहेको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा पनि पञ्चायतकालिन कानुन रहेकोले त्यसलाई संशोधन गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।

बागमती प्रदेशको सञ्चार रजिस्ट्रारको कार्यालयमा भएको पुस्तक विमोचनको अवसरमा बोल्दै रजिस्ट्रार सापकोटाले पुस्तकमा केही विषय छुटेको बताउँदै जिम्मेवारी दिएका लेखकहरूले समयमा नलेखिँदा केही अपुरो भएपनि त्यसलाई आगामी दिनमा पूरा गरेर जाने उल्लेख गरे ।

पुस्तकमा १९ वटा विधागत सामाग्री रहेको बताउँदै उनले नेपालमा पहिलो पटक विधागत पत्रकारिताको पुस्तक प्रकाशन गरेको बताए ।

यसअघि ४ वर्षअघि प्रकाशन गरेको अनलाइन पत्रकारिता पुस्तक त्रिभुवन विश्वविद्यालयले सन्दर्भ पुस्तकको रूपमा ग्रहण गरेको बताउँदै उनले त्यसलाई थप परिमार्जन गरेर नेपालभरि पुग्नेगरी काम गर्न खोजेको उल्लेख गरे ।

पुस्तक प्रकाशनको सन्दर्भमा आलोचना समेत आउने गरेको बताउँदै सञ्चार रजिस्ट्रार सापकोटाले पुस्तक प्रकाशन गर्ने आफ्नो जिम्मेवारी नभएपनि आवश्यकता पूर्ति गर्ने काम गरेको बताए ।

कार्यक्रममा प्राध्यापक रामकृष्ण रेग्मीले बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयले पुस्तक प्रकाशन गरेर प्रदेशको निकायले राष्ट्रिय आवश्यकता पूरा गरेको बताए । उनले पत्रकारीताका विद्यार्थीलाई पुस्तक सिफारिस गर्न उपयुक्त भएको बताए । १९ जना लेखकले विधागत सामग्री तयार पारेको पुस्तकमा ४२५ पृष्ठ रहेको छ ।रातोपाटी 

प्रतिक्रिया दिनुहोस्