२०८१ भाद्र २३
                           

चौताराको ऐतिहासिक कृष्ण मन्दिरको निर्वतमान सभामुख सापकोटाद्धारा उद्घाटन

चौतारा ,२० भदौ
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा पुरानो बजारस्थित १ सय १५ वर्ष पुरानो ऐतिहासिक एवम पुरातत्व महत्व बोकेको कृष्ण मन्दिरको निर्वतमान सभामुख अग्नी प्रसाद सापकोटाद्धारा उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच श्रीकृष्ण जन्माष्टमीको दिन पारेर उक्त मन्दिरको निर्वतमान सभामुख सापकोटाले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि निवर्तमान सभामुख सापकोटाले कृष्ण मन्दिर जस्तै पुरातत्व महत्व बोकेका मन्दिरहरुको खोज अनुसन्धान गरी यस्ता मन्दिरहरुलाई संरक्षण ,सम्वद्र्धन गर्नु पर्ने बताउनुभयो ।सस्कृति भनेको हाम्रो आत्म हो भन्दै परम्परा सस्कृतिलाई जोगाईराख्नुपर्ने बताउँनुभयो । देश भनेको भुगोल मात्रै होईन देश भनेको मान्छे हो मान्छे मात्रै नभई मान्छेले बनाएका ती पुरातात्विक महत्व बोकेका संरचनाहरु छन हाम्रो आफ्आफनै पराम्परा सस्कृतिहरु छन तिनीहरुलाई जोगाई युवा पुस्तालाई वोध गराई नैतिक शिक्षा दिनुु आजको आवश्यकता रहेको उहाँको भनाई थियो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गदै चौतारा सागाचोकगढि नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिका यस्ता पुरातात्विक सम्पदाको संरक्षणमा सधै लागिरहने बताउँनुभयो । ‘यो हाम्रै सम्पत्ति हो, यसको जगेर्ना हामी आफैँले गर्नुपर्दछ,’ सापकोटाले भन्नुभयो । छोटो समयमै ऐतिहासिक पुरातात्विक, सांस्कृतिक, धार्मिक र शैक्षिक महत्व बोकेको यो मन्दिर पुनःनिमार्ण भएकोमा खुसी व्यक्त गर्दै निर्माण कार्य सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा लागी पर्नुहुने सम्पुर्णमा धन्यवाद समेत व्यक्त गर्नुभयो । नगरक्षेत्रभित्रका प्रयर्टन क्षेत्रको र प्रयर्टन क्षेत्र निर्माणको लागि निरन्तर नगरपालिका नगरपालिका अग्रसर रहिरहने उहाँको प्रतिवद्धता छ । लोप हुने अवस्थामा रहेका सांस्कृतिक एवम् पुरातात्विक महत्व भएका सम्पदाहरूलाई पुनःजीवन दिनु जरुरी छ ।

१९६४ सालमा निर्माण भएको कृष्ण मन्दिर २०७२ सालको भूकम्पले ध्वस्त बनाएको कृष्ण मन्दिर बनेपछि स्थानीय खुशी भएका छन् । २०७९ फागुन १२ गते निर्वतमान सभामुख सापकोटाले नै शिलान्यास गर्नुभएको थियो । यो मन्दिर भूकम्प गएको झण्डै सात वर्षपछि मन्दिर पुननिर्माण भएको थियो।

पुरातत्त्व विभाग काठमाडौँद्वारा २ करोड लागतमा मन्दिर बनेको हो । मन्दिर निर्माणमा प्रयोग गर्ने सामाग्री र मन्दिरको शैली पुरानो डिजाइनकै छ । प्यगोडा शैलीको मन्दिर रहेको छ ।हरेक कृष्ण जन्माष्टमीको अवसरमा यहाँ दुई दिन भव्य मेला लाग्दै आएको छ । यसवर्ष पनि बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको कृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।कुनै बेला हाल मन्दिर रहेको स्थानमा सिस्नुको घारी रहेको थियो । सो स्थानबाट मध्यरातमा बाँसुरीको धुनको आवाज आउने र धुन सुनेर स्थानीय सो स्थानमा जाँदा धुन आफसेआफ हराउने गर्थ्यो ।मध्यरातमा बाँसुरीको धुनको आवाज आएका कारण सोही स्थानमा कृष्णको मन्दिर बनाइ पूजाआजा गर्दै आएको जनश्रुति पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्