२०८१ भाद्र २३
                           

धर्मगुरुहरु भन्छन्,न विवाद न विभाजन

 

जीवन श्रेष्ठ- स्वतन्त्र तिब्बत तिब्बतीहरुको चाहना हो र यसका लागि उनीहरुले भूमिगत रुपमा अभियानहरु पनि सञ्चालन गर्दै आएका छन् भन्ने धेरैलाई लाग्न सक्छ तर तिब्बती धर्मगुरुहरु भने अखण्ड चीनको पक्षमा खुलेरै बोल्ने गर्छन् ।

धर्मको विकल्प धर्म मात्र भएकाले अरु विषयसँग यसलाई जोड्न नहुने तिब्बतका धर्म गुरुहरुको मान्यता रहेको छ ।सिचुवान प्रान्त,जिङ्चेङ (Xiangcheng ) काउन्टीस्थित साङ्गपिलिङ (Sangpiling ) गुम्बाका मुख्य गुरु जियङ बा ता ला (Qiang Ba Ta La) सिधै भन्नुहुन्छ-हामी न त विभाजन चाहन्छौं,न त विवाद नै ।

नेपाल,आयरल्याण्ड,जापान र माल्दिभ्सलगायत मुलुकका पत्रकारहरुसँगको कुराकानीमा उहाँले चीनको राष्ट्रियताप्रति आफूहरु विश्वस्त र प्रष्ट रहेको जानकारी दिनुभयो ।

पत्रकारहरुको एक प्रश्नको जवाफ दिंदै धर्मगुरु बा ता लाले बौध्द धर्म र दर्शनमा दलाई लामाको कुनै स्थान नभएको ठोकुवा गर्नुभयो । उहाँले दलाई लामाको अभियान,राजनीति र धर्मसँग तिब्बतको कुनै चासो नभएको टिप्पणी गर्नुभयो । बौध्द धर्म र दर्शनप्रति कटिबद्ध रहेको बताउनु हुने गुरु बा ता ला अखण्ड चीनप्रति आफूहरु उत्तिकै प्रतिबध्द र बफादार रहेको भन्न पनि चुक्नुभएन । स्मरणीय छ निर्वासित दलाई लामा बौध्द धर्मको पक्षपोषक मात्र नभई स्वतन्त्र तिब्बतको मुख्य अभियन्ता पनि भएको बताइन्छ ।

इण्डियाले बुध्द इन्डियामा जन्मेको भनेर दावी गरिरहेको सन्दर्भमा भने धर्मगुरु बा ता लाले खुलेर बोल्न चाहनु भएन । बुध्द जन्मेको देश आफूलाई थाहा भएको र बुध्दको जन्मभूमिमा आफू पुगिसकेको बताउँदै उहाँले भगवान बुध्द कहाँ जन्मेको भन्ने सवाल ठूलो नभएको र बुध्दले के शिक्षा दिए र सिकाए भन्ने कुरा ठूलो भएको तर्क गर्नु भयो ।

२००१ बर्गमीटरमा फैलिएको ६ तल्लाको स्थानीय पुरातत्त्व कालिगढहरुद्वारा निर्मित यो गुम्बा ५ हजार जनाको क्षमता रहेको छ ।  यस भेगकै बौध्दमार्गीहरुको आस्थाको केन्द्रको रूपमा रहेको यो गुम्बाका गुरु बा ता ला धर्मको नाममा कसैले राजनीति गर्नु नहुनेमा विश्वस्त देखिनु हुन्छ ।जन आस्था

 

प्रतिक्रिया दिनुहोस्