२०८१ भाद्र २३
                           

आत्महत्या न्युनिकरणमा सिन्धुपाल्चोक प्रहरीको जोड

सिन्धुपाल्चोक ,२३ भदौ
सम्झना कार्की — आत्महत्या रोकथाम तथा न्यूनीकरणमा जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले बढी सक्रियता देखाएको छ । पछिल्लो समय जिल्लामा आत्महत्या गर्नेको संख्या बढ्न थालेपछि रोकथाम तथा न्यूनीकरणमा प्रहरीले विषेश जोड दिएको हो ।जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी निरिक्षक संजिव कुमार यादवले भन्नुभयो ‘आत्महत्या रोकथाम र नियन्त्रणको लागि प्रहरी मार्फत स्थानिय तह,बिद्यालयहरूमा सचेतना कार्यक्रमहरु गरीरहेका छौँ । बढदै गएको आत्महत्या सबैको साथ सहयोग र सचेतनाको माध्यमबाट आत्महत्या न्युनिकरण गर्न सकिनेछ ।’

हाल जिल्लामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७÷७८ मा १०६ जना, २०७८÷७९मा ९४ जना, २०७९÷८० मा ९९ जनाले आत्महत्या गरे भने चालु आ.व.२०८०÷०८१ मा अर्थात २०८० भदौ १ गते सम्म ११ जनाले आत्महत्या गरेको तथ्याङ छ ।बाह्र स्थानीय तह मध्ये आर्थिक वर्ष २०७९÷८० मा चौतारा सागाँचोकगढी नगरपालिकामा सबै भन्दा बढी २० र कम हेलम्बु गाउँपालिकामा १ जना रहेका छन् । चौतारा नगरपालिका भित्रको १३ नम्बर वडामा बढी ४ वटा आत्महत्याका घटनाहरु घटेको पाईन्छ ।

यस्तै मेलम्ची नगरपालिकामा १४,बाह्रबिसे नगरपालिकामा १०,बलेफी गाउँपालिकामा ११ ,ईन्द्रवती गाउँपालिकामा ९,जुगल र सुनकोशीमा ८÷८,भोटेकोशीमा ६ त्रिपुरासुन्दरीमा ५ ,पाचँपोखरी थाङपालमा ४ र लिसंखुपाखरमा ३ जना रहेका छन् ।तथ्यांक हेर्दा झुन्डिएर तथा विषसेवन गरेर आत्महत्या गर्ने धेरै रहेको प्रहरीले जनाएको छ । मानसिक असन्तुलन ,गरिबी ,आवेग ,नैराश्यता ,दीर्घरोगी,मादक पदार्थ सेवन लगायतका कारणले आत्महत्या गर्नेको संख्या बढेको प्रहरी निरिक्षक यादवले बताए ।सिन्धुपाल्चोक प्रहरीले जिल्लाको चौतारा सागाँचोकगढी न.पा. आत्महत्याको हट स्पोटको रुपमा देखिएकोले सोही नगरपालिकालाई लक्षित गरि पटक —पटक निरन्तर रुपमा आतमहत्या न्युनिकरण सम्बन्धी प्रशिक्षण दिदै आईरहेको प्रहरी उपरीक्षक बालनरसिंह राणाले बताए ।

आत्महत्या गर्न खोज्ने मानिसहरुको विभिन्न लक्षण देखिएको भएमा वा नभए पनि सो मानिसको समस्याको जडमा पुग्न , धेरै समय उसँग समय विताउन, भलाकुसारी गरी प्रशस्त कुराकानी गर्न, मैत्रिपूर्ण वातावरण सृजना गरिदिन , उसको समस्या खोजी समाधानको उपाय निकाल्न र सबैमा जिल्ला प्रहरी कार्यलय सिन्धुपालचोकले अनुरोध गरेको छ । साथै परिवारमा कोही सदस्यमा असामान्य व्यवहार देखाए परिवारका अन्य सदस्यले तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिए आत्महत्याको दर धेरै कम हुने प्रहरी निरिक्षक यादवले बताए ।

आत्माहत्या हुने स्थानको छनौट गर्ने ,आत्महत्याको संकेत देखिएकामा मानिसहरुको बिषयमा सुचना संकलनको लागी प्रहरी कार्यालयबाट फोकल अधिकृत तोक्ने ,आत्महत्यामा गर्नुपुर्व देखिने संकेत कुनै मानिसमा देखिएमा प्रहरीको नम्वरमा सम्पर्क गर्न लगाउने , रेडियोबाट सुचना प्रशारण गर्ने , आत्महत्याको प्रयास गरेका तथा संकेत देखापरेका मानिसहरुलाई काउन्सिलिङ तथा उपचार गर्ने , स्थानको छनौट गरी जनचेतनामुलक कार्यक्रम गर्ने (टोल स्तरमा), पर्चा÷पम्प्लेट तथा ब्रोसर छपाई गरी वितरण गर्ने , मानसिक समस्यामा परेकाहरुको लागि निशुल्क स्वास्थ्य शिविर सेवा संचालन गर्ने र आत्महत्याको प्रयासबाट बाँचेकाहरुलाई उपचार र काउन्सिलिङ गर्ने भाबी योजनाहरु जिल्ला प्रहरी कार्यलयको छ ।आत्महत्या न्युनिकरण प्रहरी एक्लैको प्रयासमा सफल नहुने भएकोले सामाजमा रहेका विभिन्न संघ संस्था स्थानिय निकाय नेपाल प्रहरी र सरकार सवै आ–आफ्नो तवरले लागि पर्नु पर्ने देखिन्छ ।

कारण जे सुकै होस्, ९ महिना कोखमा राखेर निक्कै पिडा सहेर आफ्नो आमाले दिएको यो जीवन के आत्महत्याको लागि हो त । यस्ता खबर हरुले सुन्नेको मन खिन्न बनाउछ, चिन्नेलाइ रुवाउछ र अझ आफन्तलाइ त एउटा यस्तो घाउ दिन्छ जुन कहिले पुरिन सक्दैन ।
आत्महत्या को सोच आफु भित्र रहेको एउटा दानवीय सोच हो । जीवनका हरेक खुशी र आँशुलाइ सकारात्मक ढङ्गले लिए यो सोच कहिले हावी नहोला । सास रहेसम्म हरेक कष्ट मेटिन सक्छ , असफल व्यक्तिहरुले पनि जुन सुकै मोडमा दोश्रो मौका पाउन सक्छन । त्यसैले “जिबन जिउनका लागि भगवानले दिएको बरदान हो आत्महत्या गरी खेर नफालौ” ।

प्रतिक्रिया दिनुहोस्