२०८१ भाद्र २३
                           

वडाको सहयोगमा चौतारा बसपार्कमा नागरिक सहायता कक्ष स्थापना

चौतारा/ जिल्ला सदरमुकाम चौताराको बसपार्कमा नागरिक सहायता कक्ष र प्रतिक्षालय सञ्चालनमा आएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले निर्माण गरेको प्रतिक्षालय र नागरिकता सहायता कक्षको बुधबार नगरकी उपप्रमुख सीता थापाले उद्घाटन गरेपछि प्रतिक्षालय र सहायता कक्षको औपचारिकरुपमा सञ्चालनमा आएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख सीता थापाले नगर विभिन्न क्षेत्रभित्र सहायता कक्षको आवश्यकता रहेकोले नगरपालिकाले यस्तो संरचना निर्माणमा सहयोग उपलव्ध गराउने प्रतिवद्धता प्रकट गर्नुभयो । उहाँले सहायता कक्षबाट सहज र सुलभ ढंगबाट स्थानीय र आगन्तुकहरुलाई सहायता प्रवाह हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले भौतिक संरचना निर्माणमा स्थानीय सरकारले प्राथमिकता दिंदै आए पनि नागरिक सुरक्षाको सवाललाई कम चासो दिएको बताउँदै नागरिक सुरक्षा र सहायताका लागि सञ्चालनमा आएको सहायता कक्ष सकारात्म रहेको टिप्पणी गर्नुभयो ।

एसपी बाल नरसिंह राणले सहायता कक्षा पाइलट प्रोजेक्टको रुपमा अगाडी बढाएको र प्रभावकारी भएको खण्डमा अरु ठाउँमा पनि विस्तार गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले नागरिक सहायता कक्षले प्रहरी आफैसँग रहेको अनुभूति गर्दै नागरिकले आफू सुरक्षित भएको महसुस गर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै वडा न १३ का वडा अध्यक्ष रामप्रसाद गौतमले नगरको बजेट सोच जस्तो असिमित नरहेको उल्लेख गर्दै सीमित बजेटको बाबजुद पनि नागरिक सुरक्षा र सहयोगका लागि नगरबाट पहल र प्रयत्न हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा वडा सदस्य रामबहादुर घलेले स्वागत गर्नु भएको थियो भने सचिव हरि क्षेत्रीले संचालन गर्नु भएको थियो । अध्यक्ष श्रेष्ठले आजै एसपी रानालाई नागरिक सहायता कक्षको चावी हस्तान्तरण गर्नुभयो ।

प्रतिक्षालय र नागरिक सहायता कक्षामा एकातिर यात्रुहरुले प्रतिक्षालयको उपभोग गर्नेछन् भने अर्कातिर २४ घण्टा प्रहरीले त्यहाँबाट आवश्यक शान्तिसुरक्षासँगै अन्य सहयोग सर्वसाधरणलाई प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्