जीवन श्रेष्ठ – एउटा अचम्मको मौनता देखिन्थ्यो उ भित्र । तर आँखाहरु कता कता आगो ओकलिरहे जस्तो । मस्तिष्कलाई संयमित पार्दै, मनलाई स्थिरतामा वाँध्दै ओठमा मौनताको ताल्चा लगाइरहन्थे तर फेरि पनि त्यही मौनताभित्र एउटा भद्र विद्रोहको मन्द हाँसो छचल्किन्थ्यो उनको ओठमा । उनको ओठमा त्यो मौनताको विद्रोह देखेथे एमाले नेतृत्वले पहिलो पटक संसद विघटन गर्दै संविधानको हत्या गर्दा र पछिल्लो पटक बाकै आदेशमा संसद अवरुद्ध हुँदा । त्यही मौन विद्रोहको हाँगा हाँगामा बाँच्दा बाँच्दै अन्ततः उनको जीवन यात्राको अन्त भयो र उनको सम्झनाको भद्र छवि मात्र बाँकी रह्यो ।
२०८० भदौ २६ गतेको बिहानलाई एउटा अशुभ अनि कालो बिहानको रुपमा छाडेर उनी अर्थात संविधानसभाका अध्यक्ष, पूर्व सभामुख, एमाले उपाध्यक्ष सुवास नेम्वाङ अकल्पनीय र अनन्त यात्रामा निस्किए, अब कहिल्यै नफर्कने गरेर ।
सहमति र सहकार्यको पर्याय नेम्वाङको अवसानले नेपाली राजनीतिले एउटा अपूरणीय क्षति व्यहोरेको छ । शालिनता, भद्रता र शिष्टताका त्रिवेणी उनी न कहिल्यै रिसाउन नै जाने, न त कसैप्रति कटुताको कबड्डी नै खेल्न तम्से । पार्टी अध्यक्षले जस्तै व्यङ्ग्य गर्ने ल्याकत नभएको पनि होइन उनीसँग । अहिलेका मै हुँ भनिएका भुरे टाकुरे युवा र नयाँ भनिएका राजनीतिक प्राणीहरुसँग जस्तो मनमौजी गर्ने, जे मन लाग्यो त्यही बोल्ने, अरुलाई खुइल्याउने अनि अराजकता देखाउने जस्ता अवाञ्छित ताकत नभएका पनि हैनन् । तर शालिनता र सभ्यताका सयपत्री उनी, उनले त्यो हर्कत कहिल्यै पनि प्रदर्शन गरेनन् । निष्ठा र आस्थाको आँगनमा अनुशासन, नीति र नियमको घाम ताप्दै बाँचेका उनीसँग शालिनता र भद्रता सिवाय अरु केही थिएन ।
त्यसैले त मौन बस्थे तर विद्रोहरुपी मौन । नेतृत्वले संसदको सास खिच्दा उनी मौन नै बसे । उनलाई थाहा थियो संविधानको परिकल्पनाले विकल्प छउञ्जेल संसद विघटनको मार्ग प्रशस्त गरेको छैन भनेर । त्यही भएर त उनी निकटस्टथहरुसँगको बातचितमा संसद विघटनको विपक्षमा देखिएको उ बेला चर्चा चलेकै हो । उनले निकटस्थहरुसँग यस विषयमा ब्रिफिङ गर्दा संविधानले यसरी प्रतिनिधिसभा विघटनको बाटो नदिएको बताउने गरेको चचार्, चर्चा मात्र होइन होला । जसलाई अन्तत: अदालतले प्रमाणित गरिदियो ।
नेतृत्वको बढ्दो अहमताविरुद्ध अराजकताको अस्त्र फाल्नुभन्दा पनि उनी मौन पहाड जस्तै विद्रोही बनेर ठिङ्ग उभिरहे । उनलाई थाहा थियो कि काला बादलहरु जतिसुकै गर्जँदै पहाडसँग ठोक्किए पनि पहाडलाई हल्लाउन सक्दैन भनेर । त्यही भएर उनी मौन पहाड भए । विद्रोहको मौन पहाड बनिरहे ।
पार्टी नेतृत्वको चुलिँदो अहमताको उकालोलाई वेशीमा झार्न सितिमिति शक्तिले पुग्दैन भन्ने पनि राम्ररी बुझेका उनी १० भाइको नियति बन्न पनि त चाहँदैन थिए । विद्रोहको नाउँमा फेरि घरै फोडेर हिँड्नु पनि त काइदा हैन । त्यसैले हरेक पत्थरका जवाफलाई इट्टाले भन्दा पनि कोमल फूलले दिनुपर्छ भन्ने मान्यता उनीसँग थियो । फूल जस्तै सुन्दर स्वभावका कारण पनि उनले सुन्दर विद्रोहको पक्षपोषण गरिरहे ।
नेतृत्वको गलत प्रवृत्ति र अहमतालाई उनले न त अरुले जस्तै चाटुकारको तालि बजाएर भजाउने काम गरे, न त अराजक ढंगको विद्रोह नै रोजे । फेरि पनि मौन विद्रोह, भद्र विद्रोह भने गरिरहे । जसको दृष्टान्त पछिल्लो पटक एमालेले गर्दै आएको संसद अवरुद्धको सन्दर्भमा उनले दिएको अभिव्यक्तिलाई लिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्