सिन्धुपाल्चोक । सडक दुर्घटनाबाट मृत्यु भएका अनेरास्ववियु सिन्धुपाल्चोकका सह-संयोजक नवीन पाण्डेको परिवार संरक्षणार्थ नेकपा एमाले मेलम्ची नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेकाे छ ।

‘स्वर्गीय नवीन पाण्डे परिवार राहत तथा मृतक पाण्डे की नाबालिग  छोरी निहारिका पाण्डेको शैक्षिक संरक्षण कोष’ स्थापना गर्दै नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेकाे हाे ।

नेकपा एमाले मेलम्ची नगर कमिटी अध्यक्ष विजयकृष्ण श्रेष्ठको संयोजकत्वमा कोषको स्थापना गरी आर्थिक अभियान सञ्चालन गरिएकाे एमाले नेता तथा अनेरास्ववियु पुर्व केन्द्रीय सदस्य दिपक विक्रम देउजाले जानकारी दिए ।

देउजाका अनुसार स्वर्गीय पाण्डेको ६ वर्षीय छोरी निहारिका पाण्डेको शिक्षा दीक्षा र परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सो अभियान सञ्चालन  गरिएकाे हाे ।

एमाले नेता डम्बर अर्याल र नगर कमिटी अध्यक्ष श्रेष्ठको नाममा  पाण्डे परिवारको संरक्षणको लागि नेपाल बैङ्क मेलम्चीमा खाता खोल्ने निर्णय गरिएको उनले बताए । उनले एमाले मेलम्ची नगर कमिटीले मात्रै नभई जिल्ला प्रदेश र केन्द्रले पनि यस विषयमा सोच्नुपर्ने बताए ।

नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले भने आफूहरूले यस विषयमा केही सल्लाह नगरेको बताए । उनले यस विषयमा आफूलाई थाहा नभएको र पार्टीमा सल्लाह गरेर निर्णय गर्ने बताए ।

स्वर्गीय पाण्डेको आमा,श्रीमती र एक छोरी छन् । गत शनिवार चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडामा ट्याङ्करको ठक्करबाट पाण्डेको निधन भएको थियो ।

नारायणी यातायात प्रा.लिद्वारा सञ्चालित तेल बोक्ने ट्याङ्करको ठक्करबाट मृत्यु भएका पाण्डे र अनेरास्ववियु सिन्धुपाल्चोकका सचिवालय सदस्य समीर दोङकाे परिवारलाई चौतर्फी दबाब र आन्दोलनपश्चात् बिमा रकम सहित १०/१० लाख दिने सहमति भएको थियो । निहारिका पाण्डेको पढाई खर्च बापत डेढ लाख दिने सहमति भएको थियो । पाण्डेले अनेरास्ववियु सिन्धुपाल्चोकको अधिवेशनको तयारी गरिरहेका थिए। उनी अध्यक्षको दाबेदार समेत थिए । चक्रपथ