२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोक अन्तराष्ट्रिय ट्रेल रेस २०२३ सम्पन्न

चौतारा/ ८ औं सिन्धुपाल्चोक अन्तराष्ट्रिय ट्रेल रेस २०२३ शनिवार सम्पन्न भएको छ । प्रतियोगिता अन्र्तगत ६० किलोमिटर र २८ किलोमिटर गरी दुई बिधामा रेस गरिएको थियो । चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा ठूलो शिरुबारीबाट ६० किलोमिटरको रेस सुरू गरिएको थियो । यस्तै जलबिरेबाट अन्तराष्ट्रिय किसान अभियान ’ला भिए क्यामपेनसिना’को अन्तराष्ट्रिय समन्वय समितिको सदस्य प्रमेश पोख्रेलको प्रमुख आतिथ्यमा २८ किलोमिटर रेस सुरू गरिएको थियो ।

 

६ घन्टा ९ मिनेट १२ सेकेण्डमा ६० किमीको दौड पूरा गर्दै वेद बहादुर सुनुवार प्रथम भए । दोस्रो हुने मनकुमार रोकामगरले ६ घण्टा १६ मिनेट ४६ सेकेण्ड समय लगाए तेस्रो हुने अशोक बरमले ६ घण्टा ४९ मिनेट ३० सेकेण्डमा दौड पूरा गरेका थिए ।

महिलातर्फ ६० किमी दौडमा १० घन्टा १० मिनेट १४ सेकेण्डमा पूरा गरी पदम कुमारी प्रथम, १० घन्टा १० मिनेट १८ सेकेण्डमा दौड पूरा गरि आश्मा बिक दोस्रो र १२ घन्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरि डेनिस नागरिक श्टिना हाइजेलबर्ग तेस्रो भए ।

यस्तै २८ किमी पुरुषतर्फको दौडमा २ घण्टा २१ मिनेट ४६ सेकेण्डमा दौड पूरा गरि सुमन कुलुङ प्रथम भए भने महिला तर्फ प्रिया राईले ३ घन्टा ११ मिनेट ३२ सेकेण्डमा दौड पूरा गरी प्रथम भइन् ।

२८ किमीमै पुरुषतर्फ दोस्रो भएका करण रावलले २ घण्टा २१ मिनेट ४६ सेकेण्ड र तेस्रो भएका निरज भट्टले २ घण्टा २९ मिनेट ५२ सेकेण्डमा दौड पूरा गरेका थिए । २८ किमी महिलातर्फ दोस्रो भएकी सबिना राईले ४ घण्टा २२ मिनेट ८ सेकेण्ड र तेस्रो भएकी स्याली माउल्डस्ले ४ घन्टा ४४ मिनेट २५ सेकेण्डमा दौड पूरा गरेका थिए ।

प्रतियोगिताको ६० किलोमिटरको रेसमा ११ पुरुष र ३ महिलाले सहभागीता जनाएका थिए भने २८ किलोमिटरको रेसमा १६ महिला र २९ पुरुष दौडिएका थिए ।

कार्यक्रम समापनमा मन्तब्य राख्दै समुदायमा आधारित गैरनाफामुलक यस रेसले सिन्धुपाल्चोकलाई अन्तराष्ट्रिय मञ्चमा चिनाएको प्रतियोगिताको संयोजक महेश दाहालले बताएका छन् । उनले रेसका विजयी खेलाडीले अन्तराष्ट्रिय दौड प्रतियोगितामा समेत जितेको बताए । २०७२ को भूकम्पपश्चातको उद्दारका लागि समेत रेस आयोजना गरिएको थियो । यो रेस ८ औं संस्करणको भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्