सुनकोशी गाउँपालिकाले वृद्धा,एकल महिला तथा अपाङगहरुले पाउने सामाजिक सुरक्षा भत्ता सम्बन्धीत वडा कार्यालय मार्फत नै वितरण गरेपछि वृद्धाहरु खुसी भएका छन् ।
बैकमा गएर लामो लाइन बसेर भत्ता लिन झण्झट भएपछि गाउँपालिकाले बैंकहरुसँग समन्वय गरेर सम्बन्धीत वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाएको थियो ।
गाउँपालिकाले पहिलो दिन वडा नम्बर–६ बाट सम्बन्धीत वडामा नै गएर सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गरेको थियो । सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र वडा नम्बर ६ का अध्यक्ष चक्रबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ताको रकम वितरणको सुरुवात गरेका थिए ।
सुनकोसी गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएपछि भने ज्येष्ठ नागरिकहरुलाई गत वर्षदेखि सम्बन्धित वडाबाटै भत्ता वितरण सुरु गरेको छ । बैंकमा पुगेर भत्ता लिन झन्झटिलो भएको गुनासो बढेपछि जनप्रतिनिधिहरुले वडाबाटै सामाजिक सुरक्षा भत्ता बाँड्ने निर्णय लिएका हुन् ।
दशैंको मुखमा बैंकहरुमा भिड पनि हुन्छ,वृद्धा बा, आमाहरुलाई असजिलो पनि हुने भएपछि बैंकहरुसँग समन्वय गरेर वडाबाट नै भत्ता वितरणको सुरुवात गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
सुनकोसीका ७ वटा वडामध्ये ४, ५ र ६ मा बैंक टाढा रहेको छ । यी वडामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।
सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले सुनकोशी गाउँपालिका–६ का धनबहादुर बस्नेतलाई पहिलो तीन महिनाको १२ हजार रुपैयाँ भत्ता प्रदान गरेर वडाबाटै भत्ता वितरण सुरु गरेका थिए । ‘आफैले भोट दिएको मान्छेको हातबाट घरमै भत्ता पाएँ । एकदमै खुशी लागेको छ’, अध्यक्ष तिमिल्सिनाको हातबाट भत्ता बुझेपछि खुसी हुँदै बस्नेतले भने । वडा कार्यालयबाट भत्ताबापतको रकम पाउदा बैंकसम्म पुग्न दुःख नभएको र अन्य बेलामा पनि यसै गरी वडाबाटै भत्ता पाए सजिलो हुने वडा नम्बर ६ की मनमाया थापाले बताइन ।
गाउँपालिकाभित्र सरकारले वर्गीकरण गरेको २ हजार ७३४ जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युगबहादुर खडकाले जानकारी दिए । वडा नम्बर १ देखि ५ सम्म सिन्धु विकास बैंक र ६ तथा ७ मा लक्ष्मी बैंकमार्फत भत्ता वितरण गर्ने गरिएको उनले बताए । वडा नम्बर १ देखि ३ सम्म सिन्धु विकास बैंक नजिकै भएकाले सम्बन्धित बैंकमार्फत नै वितरण हुने र ७ मा पनि लक्ष्मी बैक नजिकै भएकाले त्यो वडामा पनि बैंकबाटै भत्ता वितरण हुने खडकाले जानकारी दिए ।
सुनकोशी गाउँपालिकामा जेष्ठ नागरिक १६७५,जेष्ठ दलित ११३, जेष्ठ नागरिक एकल महिला १९५,एकल महिला ३१८,पुर्ण अपाङ्ग ९८, अति अशक्त अपाङ्ग १३५ र दलित बालबालिक २०० गरी कुला २७३४ जनाले मासिक रुपमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ताबापतको रकम बुझ्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्