२०८१ भाद्र २३
                           

बागमती प्रदेशमा नेवाः र तामाङ भाषालाई पनि सरकारी मान्यताः खुशियालीमा दीपावली

काठमाडौं, २४ असोज । बागमती प्रदेश संसदले ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतले पारित गरेको छ ।

यो विधेयक पारित भएसँगै अब बागमती प्रदेशमा नेपाली भाषाका साथसाथै नेपालभाषा (नेवार भाषा) र तामाङ भाषालाई पनि सरकारी कामकाजी भाषाको रुपमा मान्यता प्राप्त भएको छ । अब बागमती प्रदेशका सरकारी निकायहरूमा नेपाली लगायत नेपालभाषा र तामाङ भाषा गरी तीन भाषा प्रयोग गर्न सकिने भएको छ ।

बागमती प्रदेश संसदमा सोमवार सरकारका तर्फबाट उद्योग, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उक्त विधेयक पेश गर्नुभएको थियो भने त्यसलाई संसदको सर्वसम्मतबाट पारित गरिएको थियो ।

विधेयक पारित भए सँगै काठमाडौं उपत्यकामा हिजोदेखि खुशियाली स्वरुप दीप प्रज्ज्वलन गरी दीपावली मनाउन थालिएको छ । हिजो काठमाडौंको कीर्तिपुर, स्वयम्भू भगवान पाउ, असन टोलमा नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूका विभिन्न शाखा कमिटीहरूले दीपावली गरेका थिए ।

यस उपलक्ष्यमा आज पनि विभिन्न स्थानमा दीपावली हुँदैछ भने भोलि प्रदेश राजधानी हेटौंडामा पनि स्थानीय नेवाः र तामाङ समुदाय मिली ¥याली निकाल्ने तयारी भइरहेको छ ।

नेपालमा भाषा सम्बन्धी विषयका लागि मात्र छुट्टै कानुन तर्जुमा गरिएको यो नै पहिलापटक हो । यसलाई भाषिक समान अधिकारका लागि दशकौं अघिदेखि हुँदै आएको भाषा आन्दोलनको एक ऐतिहासिक उपलब्धीको रुपमा लिइएको छ ।

भाषा सम्बन्धी यो विधेयक संसदले एक मतले पारित गरे पनि यसको व्यवहारिक कार्यान्वयन भने आउँदो छ महिनापछि मात्रै हुने जनाइएको छ । विधेयक पारित भइसके पछि कार्यान्वयनमा जाने तयारीको लागि छ महिना जति समय लाग्ने भएकोले त्यसको लागि समेत समय मिलाई छ महिनाको समय लिइएको बताइएको छ ।

विधेयकमा अब उप्रान्त प्रदेशको सरकारी कार्यालय, अदालत, विद्यालय आदि जस्ता स्थानमा नेपाली भाषाका अतिरिक्त नेपालभाषा (नेवार) र तामाङ भाषा प्रयोग गर्न सकिनेछ । यसको लागि सरकारले विद्यमान कर्मचारी संयन्त्रबाटै आवश्यक तयारी गर्नेछ ।

विधयेकले भाषा प्रयोगका साथसाथै योसँग जोडिएको लिपिको पनि प्रवद्र्धन गर्दै जाने नीति लिएको छ ।

भाषा आयोगले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनका आधारमा बागमती प्रदेशले यो विधेयक पारित गरेको हो । अब यस्तै विधेयक अन्य प्रदेशहरूले पनि तर्जुमा गर्दै लानुपर्नेछ ।मैत्री न्युज

प्रतिक्रिया दिनुहोस्