२०८१ भाद्र २३
                           

अभयानन्द शिक्षा क्याम्पसले मनायाे आफ्नाे ११ औं स्थापना दिवस

सिन्धुपाल्चोक, २५ असाेज । अभयानन्दकाे इतिहास बाेकेकाे अभयानन्द शिक्षा क्याम्पसले आफ्नाे ११ औं स्थापना दिवस तथा १० औं बार्षिक उत्सव भव्यताकासाथ मनाएकाे छ ।

इन्द्रावती गाँउपालिकाकाे ऐंसेलुखर्कमा अभयानन्दकाे नामबाट नामकरण भएकाे क्याम्पसले बिगतका वर्ष हरू जस्तै यस वर्ष पनि आफ्नाे बार्षिक उत्सव मनाएकाे हाे

इन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालकाे प्रमुख अतिथ्यतामा भएकाे बार्षिकोत्सव कार्यक्रममा बाेल्नुहुँदै उहाँले स्थानीय सामुदायिक क्याम्पसले विभिन्न चुनौती झेलिरहेको अवस्थामा अभिभावकीय भूमिका खेल्न तिनै तहका सरकारले योजना बनाउनुपर्ने बताउनुभयाे ।

कार्यक्रमा इन्द्रावती गाँउपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले अभयानन्द शिक्षा क्याम्पसले अप्ठ्यारो परिस्थितिमा सम्बन्धन प्राप्त गरेकाे सन्दर्भ निकाल्नुहुँदै पालिकामा रहेका दुई वटा क्याम्पसलाई एकिकृत गरेर दिगो बनाउने कुरामा पालिकाले योजना बनाईरहेको बताउनुभयो ।

उहाँले शिक्षण संस्थाहरुलाई एकिकृत गरी संख्यात्मक भन्दा पनि गुणात्मक रुपमा मुलुकका लागि आवश्यक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयाे ।

कार्यक्रमा निवर्तमान अध्यक्ष शम्भुविक्रम थापा, पुर्व उपाध्यक्ष शुदर्शन आचार्य, सल्लाहकार राधाकृष्ण प्रधान, जग्गादाता उत्तम प्रसाद कायस्थ, पुर्व प्रहरी नायव उपरीक्षक हिरा गिरीलगाएत सरोकारवालाहरुको सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा अभयानन्द शिक्षा क्याम्पसका अध्यक्ष भवनाथ आचार्यले क्याम्पसमा अध्ययनरत् विद्यार्थीहरूलाई नि: शुल्क अंग्रेजी कक्षाकाे  व्यवस्था गरिनुका साथै विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तककाे नि: शुल्क लाइवेरीकाे व्यवस्था गरिएकाे बताउनुभयाे । उहाँले क्याम्पसमा अध्ययनरत् विद्यार्थीहरूलाई नि: शुल्क कम्प्युटर कक्षा तथा टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीहरूलाई नि: शुल्क आवासकाे व्यवस्था गरिएकाे पनि बताउनुभयाे ।

क्याम्पसकाे साधारणसभाले पुर्व विद्यार्थी गोपिकृष्ण न्यौपानेको अध्यक्षतामा अभयानन्द पुर्व विद्यार्थी समाजलाई पनि बैधानिकता दिएको छ । क्याम्पसले उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेकाे थियाे ।

काे थिए अभयानन्द ?

गोरखा जिल्लामा जन्मिएका स्वामी अभयानन्द (१८३८–१९१९) को वास्तविक नाम रणवीरसिंह थापा हो । भीमसेन थापाका कान्छा भाइ यी रणवीरसिंह थापा फुल जर्नेल भएका थिए । उनी पाल्पाका बडाहाकिम तथा नेपाल अङ्ग्रेज युद्धका क्षेत्र कमान्डर थिए । उनी राजनीतिज्ञ पनि थिए ।

उनले छोटो समयको लागि सन् १८३७ मा कार्यवाहक मुख्तियार भएका थिए । काजी रणवीरसिंह स्वामी अभयानन्दको नामबाट योगी बनेका हुन् ।

रणवीरसिंह थापा जो स्वामी अभयानन्द बनेका थिए । उनी जागिरबाट अवकाश पाएपछि सिन्धुपाल्चोक जिल्लाको सिपा क्षेत्रमा सिपाली हुन आएका हुन् । सिन्धुपाल्चोकको सिपाक्षेत्र साहित्यिक दृष्टिले जिल्लाको अन्य क्षेत्रभन्दा अगाडि देखिन्छ । स्वामी अभयानन्द यस क्षेत्रमा आएर बसोबास गर्दा उनले त्यहाँ सामाजिक कार्यहरू पनि गरे । अभयानन्दले ऐँसेलुखर्कको गुफा, धर्मशाला रणनैनेश्वर शिवालय आदिको निमार्ण गरे ।

नेपाली भाषा साहित्यका विकास विस्तारको हिसाबले प्राचीनकालकै रूपमा मानिएका स्वामी अभयानन्दले भाषा साहित्यको विस्तारक्रममा आफूले सकेको योगदान दिएका छन् । उनी इतिहासमा अङ्कित छन् । तत्कालीन परिवेशअनुसार सिन्धुलाई हराभरा बनाउने काममा उनको सक्दो योगदान रहेको पाइन्छ ।

स्वामी अभयानन्द आध्यात्मिक एवम् साहित्यिक व्यक्तित्व हुन् । उनले नैतिक शिक्षाका केही पुस्तकहरू लेखेको भन्ने जानकारी छ । तिनमा ध्यानयोग, मन्त्रयोग, लक्ष्ययोग र वासनायोग हुन् । ती पुस्तकहरू फेला पार्न भने सकिएको छैन । उनका बारेमा जनकलाल शर्माले जोगमनी सन्तपरम्परा र साहित्यमा उल्लेख गरेका छन् । त्यस्तै कृष्णप्रसाद पराजुलीले पूर्व एक नम्बर सं. द्वितीय २०५० को पृष्ठ २२३–२४ मा सामान्य परिचय दिएका छन् । साधुक्कडी भजन लेख्ने अभयानन्दका कविता भाषा सरल सहज रूपले बुझ्न सकिने छन् । उनले नेवारी भाषामा पनि भजन लेखेका छन् ।

स्वामी अभयानन्दले सिपा ऐँसेलुखर्क, बाँडेगाउँमा केही सामाजिक योगदान पनि दिएका छन् । उनी यस क्षेत्रमा जीवनको अन्तिम समयसम्म रहे र काशीमा पुगेर परमधाम भए ।मैत्री न्युज

प्रतिक्रिया दिनुहोस्