२०८१ भाद्र २३
                           

नेपालहिल्फेको सहयोगमा निर्मित नयाँ भवन विद्यालयलाई हस्तान्तरण

२६ असोज, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ३ को महभीर गाउँमा निर्माण सम्पन्न श्री आदर्श आधारभूत विद्यालयको पक्की भवन व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

शुक्रबार नयाँ भवनको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद सापकोटा र दातृसंस्था नेपालहिल्फे वाइलंग्रीस इ.भी., जर्मनीका प्रतिनिधि राल्फ पेश्चल र मिखाइल रेवेलेले संयुक्त रुपमा नवनिर्मित भवनको उद्घाटन एवं हस्तान्तरण गरे । कक्षा तीनसम्म पढाइका लागि आवश्यक पक्की भवन, अलग्गै क्यान्टीन र कार्यालय भवन, पक्की शौचालय, खानेपानी सुविधा तथा खेल मैदान र घेरावार व्यवस्थापनसहित सबै काम सम्पन्न गर्न १ करोड १ लाख खर्च भएको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष पोडे तामाङ्ले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरकै दुर्गम मध्यको महभिरमा विद्यालय भवन बनेपछि स्थानीय विद्यार्थीलाई पढ्न सजिलो भएको बताउँदै दातृसंस्थालाई धन्यवाद दिए । उनले विद्यार्थीको सँख्यासँग जोडिएको मापदण्ड पूरा भएपछि नगरपालिकाको तर्फबाट शिक्षक व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपालहिल्फे वाइलंग्रीस, जर्मनीका प्रतिनिधि राल्फ पेश्चलले विद्यालय भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै भवनको सही सदुपयोग हुने विश्वास व्यक्त गरे । उनले भवन हस्तारन्तरण समारोहमा महभीरका स्थानीयसँग सहभागी हुन पाउँदा गर्व महसुस भएको बताए । नेपालहिल्फेका कार्यक्रम संयोजक श्याम पण्डितले विद्यालय भवन निर्माणका लागि स्थानीय बासिन्दा, निर्माण व्यवसायी र सहजीकरण गर्ने संस्था सबैको सक्रियताबाट समयमै काम सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।

वडा नं ३ का अध्यक्ष टेक बहादुर तामाङले विद्यालय भवन सहितका आवश्यक पूर्वाधार निर्माणले गाउँमा खुसीयाली छाएको बताए । नेपाल पत्रकार महासंघका सिन्धुपाल्चोकका अध्यक्ष जीवन प्रसाद श्रेष्ठले विद्यालयले नयाँ भवन प्राप्त गरेकोमा स्थानीयलाई र सहयोगी संस्था जनहितलाई धन्यवाद दिए । तामाङ समुदायको मात्र बसोबास रहेको महभीर गाउँमा पुग्ने कच्ची सडक पार गरेर नेपालहिल्फे वाइलंग्रीस, जर्मनीका इन्ग्रीड पेश्चल, मिखाइला रेबेले, नेपाल प्रतिनिधि सुनिल कृष्ण श्रेष्ठ, जनप्रतिनिधि, सञ्चारकर्मी महभीर पुगेका थिए ।

नगरपालिकाको सबैभन्दा दुर्गम गाउँ महभीरमा यस अघि विद्यालय नै थिएन । सुविधा सम्पन्न विद्यालय भवन र फर्निचर पाएपछि स्थानीय महभीरबासीले नगर प्रमुख र दातृसंसाथका प्रतिनिधिहरुलाई दिल खोलेर सम्मान गरे । पाहुनाहरुलाई स्वागत गर्न गाउँको तल्लो भागसम्म माला र खादासहित पुगेका स्थानीयले तामाङ संस्कृति अनुसार डम्फु बजाएर झाँक्री नाच प्रदर्शन गरे । विद्यालयमा अध्ययनरत ससाना विद्यार्थीले नाच गान मार्फत सम्मान दर्साएका थिए ।

विद्यालय भवन निर्माणको लागी नेपालहिल्फे वाइलंग्रीस इ.भी., जर्मनीको आर्थिक सहयोग र जनहित सिन्धुपाल्चोकको सहजीकरण रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्