२०८१ भाद्र २३
                           

गाजाका बच्चा ।

भरत पोख्रेल- प्यालेस्टाइन गाजाका हमासले दक्षिण इजरायल अस्केलोन क्षेत्रमा अक्टोबर ७, २०२३ आक्रमण गरेको आज एक महिना पुग्यो । प्यालेस्टाइनको क्षेत्रफल ६,२२० वर्ग किलोमिटर छ जुन विश्वको १७० औं दर्जामा पर्दछ । यहाँको जनसंख्या ४९,९८,२७४ रहेको छ जुन विश्वको १२१ औं स्थानमा पर्छ जसमा ७० प्रतिशत महिला र बालबालिका छन् । संयुक्त राष्ट्रसंघका १९३ राष्ट्रहरूमा १३८ राष्ट्रहरूले प्यालेस्टाइनलाई राज्यको मान्यता दिएका छन् । गाजा प्यालेस्टाइनको प्राचीन कालदेखिको सार्वभौम क्षेत्र हो जहाँ इजरायलले हस्तक्षेप गरिरहेको छ ।
गाजाको क्षेत्रफल चौडाइ १० किलोमिटर र लमाइ ४० किलोमिटर छ । गाजाको जनसंख्या २३ लाख रहेको छ । अक्टोबर ७ देखि सुरुभएको द्वन्द्व भनौं वा नरसंहारमा संयुक्त राष्ट्रसंघको ताजा तथ्यांक अनुसार प्यालेस्टाइन तर्फ ९,४८५ मृत्यु भएको छ जसमा ३,९०० बालबालिका, २,४३० महिला, ५७२ बूढाबूढी र २४,१७३ घाइते गरी कुल ३३,६५८ बताइएको छ । इजरायल तर्फ १,४०० मृत्यु, (३१ बालबालिका) र घाइते ५,४०० गरी कुल ६,८०० रहेका छन् । संयुक्त राष्ट्रसंघमा भएको मतदानमा प्यालेस्टाइनको पक्षमा १२० मत परेको छ भने इजरायलको पक्षमा १४ मतमात्र पर्यो र ४५ राष्ट्र अनुपस्थित रहे । चीन र नेपालले प्यालेस्टाइनको पक्षमा मतदान गरेका थिए भने भारत मतदानमा अनुपस्थित रह्यो ।
बेलायत स्थित संस्था सेभ द चिल्ड्रेनका अनुसार इजरायली हमलाले गाजामा ठूलो संख्यामा बालबालिकाहरूको हत्या भइरहेको भनेको छ ।
युनिसेफले यो कुराको पुष्टि गर्दै गाजामा कुल जनसंख्याको ४३ प्रतिशत १४ वर्ष मुनिका बालबालिका रहेको बताएको छ । इजरायली डिफेन्स फोर्स (आईडिएफ) को आक्रमणले गाजाका ४५ प्रतिशत घरहरू ध्वस्त भएका छन् र २ लाख ५० हजार मानिसहरू घरबारविहीन भएका छन् । गाजामा ४० हजार आवासीय भवन, १० अस्पताल, २०० स्कुल र शरणार्थी शिविरहरूमा हमला भएको छ । गाजाका बेइत हानोन, बेइत लाहिया, सुजाइयाह, आबासान काबीरा सहरहरू इजरायली आक्रमणले ध्वस्त भएका छन् । आईडिएफले एफ-१६ युद्धक विमानले मानव पशुभन्दै गाजामा नरसंहार गरिरहेको छ । १७ अक्टोबर इजरायलले गाजाको अल-अहली अस्पतालमा आक्रमण गरेर ६०० मानिस मारेको छ भने ९०० घाइते भएका छन् ।
२२ अक्टोबरमा दैर अल-बालह अस्पतालमा आक्रमण भएको छ जहाँका धेरै बिरामी र कुरुवाहरूको मृत्यु भएको छ । अल-बुर्ज जाबालियाको अल-माघाजी शरणार्थी शिविरमा भएको हमलामा धेरैको ज्यान गएको छ । इजरायलले ७ अक्टोबर पछि ३ लाख ६० हजार सैनिक परिचालन गरिरहेको छ । प्रत्येक १५ मिनेटमा गाजामा एउटा बच्चाको हमलामा हत्या भएको छ । एक महिनामा गाजामा इजरायली सैनिकले ६ हजार बम खसालेका छन् । गाजामा संयुक्त राष्ट्रसंघका राहत कार्यमा खटिएका ७९ कर्मचारी र २९ पत्रकारकारहरूको हमलामा मृत्यु भएको छ ।
हमासले गएको अक्टोबर ७ मा इजरायलमा आक्रमण किन गर्यो त ? इजरायलले २००७ देखि गाजालाई एउटा खुला जेल जस्तो बनाएको थियोे । इजरायलले गाजालाई १५ वर्षदेखि जल, थल र आकाशमा घेराबन्दी गरिरहेको थियोे । खाद्यान्न, बिजुली, पानी, इन्धनमा नियन्त्रण गरेको थियोे । यस्तो नियन्त्रणले गाजाका पाँचमा चार बच्चाहरू डिप्रेसन, डर र त्रासमा बाँचेका थिए । इजरायलमा १० मा ४ प्यालेस्टाइनी जेलमा कोचिएका छन् । बच्चाहरूलाई बन्दुक देखाएर बन्धक बनाइएको छ ।
इजरायलमा बस्ने इजरायलीको वार्षिक प्रतिव्यक्ति आय ५५,५०० अमेरिकी डलर छ भने त्यहीँ बस्ने प्यालेस्टाइनीको वार्षिक प्रतिव्यक्ति आय ३,५०० अमेरिकी डलर मात्र रहेको छ । यीनै असमानतादेखि आक्रोशित भएर जेल ब्रेक गर्न हमासले मरता क्या न करता स्थितिमा आक्रमण गर्यो ।
अक्टोबर ९ देखि गाजामा पानी आपूर्ति बन्द छ । अक्टोबर ११ देखि बिजुली बलेको छैन । राहतको रोटीले जीवन चलेको छ । इजरायल गाजाबाट प्यालेस्टाइनलाई विस्थापित गर्न चाहन्छ । प्यालेस्टाइनी आफ्नो भूमिमा अधिकार चाहन्छन् । इजरायलले हमास विरुद्ध युद्ध घोषणा गरेको छ । हमासले २२२ इजरायली (अमेरिकी समेत) बन्धक बनाएको छ; कतारमा वार्ता चलिरहेको छ । आशा गरौं वार्ता शान्तिमा टुंगिने छ र गाजाका बच्चाहरू स्वतन्त्र जीवन बाँच्ने छन् ।

प्रतिक्रिया दिनुहोस्