२०८१ भाद्र २३
                           

घरमै पढेर स्नातकोत्तर गरे गुभाजुले

सिन्धुपाल्चोक , २ पुस
दृढ इच्छाशक्ति लिएर काम गरेमा सफलता हात पार्न सकिन्छ भन्ने उदाहरण बनेका छन् बिकट गाउँका ईश्वर गुभाजु । पढ्नका लागि उनी एक दिन पनि कलेज गएनन् । कामकाे बाेझले कक्षा लिन नपाएका गुभाजुले बचेकाे समयलाई सदूपयाेग गरेर घरमै पढी त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी २ पुसमा दीक्षित भएका हुन् ।

जुगल गाउँपालिका वडा नं ४ काे हिमाली गाउँ सेप्सामा जन्मिएका गुभाजु गरिब किसानका छाेरा हुन् । ११ वर्ष छँदा बुबा चन्द्रबहादुरकाे मृत्यु भयाे । आमा सरस्वतीले निमेक गरेर छाेरा पढाउने संकल्प गरिन् । गरे असम्भव केही छैन भन्ने उनले प्रमाणित गरी छाडिन् । लेकाली गाेठमा बाल्यकाल बिताएका गुभाजुले किशाेरावस्थासम्म भरपेट खान पनि पाएनन् । “घरमा गाइबस्तुकाे स्याहार गर्दै गाउँकै डल्लेपाेखरी प्राविबाट पाँच कक्षा पास गरेँ,” बिगत सम्झेर भावुक बन्दै उनले भने, “आमाको दुःख देखेर केही गर्छु भन्ने अठाेट लिएकाे थिएँ ।”

गाउँबाट धेरै तल रहेकाे कालीदेवी निमाविबाट उनले कक्षा आठ पास गरे । विद्यालय जान बिहानभर लाग्थ्यो । फर्कँदा रात पर्थ्याे। पढ्नमा तेज क्षमता भएकोले गुभाजुलाई आमाले बाह्रबिसेकाे शारदा उमाविमा भर्ना गराइन् । एसएलसी त्यहीँबाट गरे । ,प्लस टु र स्नातक सुनकाेसी बहुमुखी क्याम्पस लामाेसाँघुबाट पास गरे । एसएलसी उत्तीर्ण गर्नासाथ पर्यटककाे भारी बाेक्न तातोपानी नाका प्रस्थान गरे ।

एसएलसीमाथिकाे शिक्षा आर्जन गर्न उनी कहिल्यै कलेज जान पाएनन् । नेपालपटिबाट भारी बाेकेर चीनको खासा पुर्याएपछि ५० रुपैयाँ प्राप्त हुन्थ्यो । उनी दिनमा तीनपटकसम्म भारी खेप्थे । ०६१ सालबाट दस वर्ष भारी बाेके । तर, पढाइलाई निरन्तरता दिए । दिउँसभर भारी बाेक्थे । जति थकाइ लागेपनि राती दुई घण्टा किताब पढ्थे ।

मानिसकाे दुःख सधैँ एकै हुँदैन । उनकाे जीवनमा नयाँ माेडकाे सुरुवात भयाे । तातोपानीका केही युवासँग मिलेर झाेलेपाेके व्यापार गर्न सुरु गरे । व्यापार सुरु गरेकाे वर्ष दिनमै उनले राम्रो आम्दानी पनि गरे । त्यसपछि उनले विजनेस कम्पनी स्थापना गरेर ठूलाे व्यापार सुरु गरे । अहिले उनकाे कम्पनीमा एक सय ५० जनाले राेजगारी गर्छन् । गुभाजु सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सचिव पनि छन् । व्यापारकाे अलवा गुभाजु सामाजिक र राजनीतिक काममा पनि उत्तिकै सक्रिय छन् । उनकाे भनाइँ छ, मनमा अठाेट लिएर काम गर्याे भने सफलता चुम्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्