२०८१ भाद्र २३
                           

विवाह बहस

 

पुस३, भरत पाेख्रेल-  गत मङ्सिरको अन्तिम साता नेपालमा भएका दुईवटा विवाहको बहस सामाजिक सञ्जालमा चलिरहेका छन् ।

एउटा विवाह नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल-सीता दाहालकी नातिनी अर्थात् रेणु दाहाल-अर्जुन पाठककी छोरी प्रतिभा पाठक र अर्को विवाह बद्रीप्रसाद खतिवडाकी नातिनी अर्थात् नेकपा (एकीकृत समाजवादी) का नेता पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाकी छोरी पूर्व मिस नेपाल शृङ्खला खतिवडाको विवाह ।

शृङ्खलाको विवाह बहसको शृङ्खला चलिरहला अहिले मेरो ध्यानाकर्षण रेणु पुत्री प्रतिभाको विवाह बारे रहेको छ । म चालीसको दसकमा चितवन भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्थें । विद्यार्थी सकृय राजनीतिबाट प्राध्यापन पेशामा पसे पनि चितवनको सचेत समाजमा मेरो बौद्धिक सामाजिक सक्रियता थियो ।

म चितवन नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको संस्थापक अध्यक्ष, दुई कार्यकाल अध्यक्ष रहँदा मेरो पहिलो कार्यकाल संगठन सचिब रामपुर कृषि क्याम्पसका स्ववियु पूर्व सभापति, चितवनमा चर्चित व्यक्तित्व मेरा समकालीन मित्र मित्रराज दवाडी र मेरो दोस्रो कार्यकाल संगठन सचिव वीरेन्द्र बहुमुखी क्याम्पस स्ववियु पूर्व सचिब उदीयमान विद्यार्थी नेता प्रेमराज रिमाल हुनुहुन्थ्यो । २०४६ सालको जनआन्दोलनले देशमा बहुदलीय व्यवस्था बहाल भएको थियो ।

राजनीतिक पार्टीहरू सामाजिक रुपान्तरणमा पनि सकृय भए । नेकपा (मशाल) को राजनीतिक सामिप्यतामा रहेको नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन पनि सामाजिक रुपान्तरणमा सकृय रूपमा लाग्यो । चितवनका गाउँबस्तीहरूमा हामीले मैनबत्ती बालेर, माला लाएर धेरै प्रगतिशील विवाह गरायौं ।

हाम्रो संगठनका साथीहरूले धेरै प्रगतिशील विवाह गराउनु भयो । यो कार्यमा मेरा प्राध्यापन सहकर्मी भीमराज अधिकारी र म साइकल चढेर प्रगतिशील विवाह गराउन चितवन धेरै चाहरेका छौँ । देशमा गणतन्त्र आयो तर सामाजिक रूपान्तरण गठबन्धन राजनीतिक प्रतिगमनको प्रतिछायाँ बन्यो र त्यसकै एउटा कुरूप उदाहरण हो प्रचण्ड नातिनी प्रतिभाको विवाह ।

प्रचण्ड परिवार सचेत भएको भए यो विवाहलाई सहज बनाउन सक्थ्यो । सन १९९७ मा भारतको राज्यसत्ताको कमान भारतीय राष्ट्रिय कांग्रेस अर्थात् सोनिया गान्धीमा थियो । १९९१ मा राजीव गान्धीको हत्यापछि राहुल प्रियंकाको सारा जिम्मेवारी सोनियाले सम्हालेकी थिइन ।

१९९७ मा प्रियंकाको विवाह हुँदा सोनिया गान्धीले राष्ट्रको नाममा एउटा सन्देश प्रबाह गरिन । मेरो इच्छा प्रियंकाको विवाहमा सबै भारतबासीलाई निम्त्याउने रहेको थियो तर यो मेरो क्षमताभन्दा बाहिरको चाहना हुन्छ । हाम्री छोरीको विवाहमा बेहुलीको बुवा राजीव गान्धीको अनुपस्थिति हामीलाई साह्रै खट्किएको छ ।

त्यो अभाव मेटाउन विवाह स्थल १० जनपथमा राजीव गान्धीका फोटाहरू राखिएका थिए । प्रियंकाको विवाहमा सोनियाले परिवार बाहेक सीमित मानिसहरूलाई मात्र निमन्त्रणा गरिन । गठबन्धनका तत्कालीन प्रधानमन्त्री एच डी देवगौडा र कांग्रेस अध्यक्ष सीताराम केशरी बाहेक क्याबिनेट मन्त्रीहरूलाई पनि निम्तो थिएन ।

प्रचण्ड परिवारले सोनिया मोडेल अपनाउने सुअवसर थियो गुमायो । सीता दाहालको सम्झनामा केही देखिएन । एकवर्ष नबित्दै प्रचण्डले पत्नी, रेणुले आमा र प्रतिभाले हजुरआमा बिर्से । गोकर्ण रिसोर्टमा खलपात्रहरूको जमघटको तुष्टीकरण गराउन खलनायक राजेश हमाललाई शिखन्डी रूपमा उपयोगको औचित्य के ? प्रतिभा रेणुकी छोरी हुन् । रेणुको जन्मथलो कर्मथलो चितवन हो ।

यो विवाह चितवनमा हुनुपर्थ्यो । दाहाल परिवारले राज्यसत्ताको दोहन दुरुपयोग गर्न राजधानी काठमाडौँ चयन गर्नु गलत भयो । प्रचण्ड परिवारले यो विवाह खर्चको अनुत्पादक अंश जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई सहयोग गरेको भए एउटा सकारात्मक नजीर बन्ने थियो । नातिनी-छोरी प्रतिभाको विवाहमा प्रचण्ड परिवार पूरै चुक्यो ।

प्रतिक्रिया दिनुहोस्