२०८१ भाद्र २३
                           

भान्सालाई औषधालयको रुपमा लिन सचेतनात्मक कार्यक्रम

चौतारा । भान्सालाई औषधालय र खानलाई औषधीको रुप दिनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले विहीबार एक सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।


स्थानीय आमा समूहमा आवद्ध आमाहरुलाई लक्षित गरि सञ्चालन गरेको कार्यक्रममा ७३ जना आमाहरुको सहभागिता रहेको स्वास्थ्य केन्द्रले जनाएको हो ।आफ्ना भान्साघरलाई आदर्श भान्साघरको रुपमा विकास गर्दै स्वास्थ्य रक्षामा सहयोग पु¥याउने उदेश्यले चौतारास्थित जुगल इन होटलमा आयोजित कार्यक्रममा केन्द्रकी प्रमुख एवम् डा. अञ्जु कार्कीले हरेक नागरिकको पहिलो औषधालय नै भान्साघर भएको बताउनुभयो ।


उचित आहारको सेवन गर्दा रोग लाग्ने संभवना न्यून रहेको भन्दै उचित खानपिनले रोगबाट टाढा रहने विश्वास डा. कार्कीले व्यक्त गर्नुभयो । उहाँले नेपाली भान्साको विशेषताको रुपमा रहेको बेसार, अदुवा, लसुन, प्याज, जीरा, धनियाँ लगायतका मसालहरुको जडिबुटीय प्रयोग र उपयोगिताबारे प्रष्ट पार्नुभयो ।
कार्यक्रममा डा. जेनिसा सापकोटाले आदर्श भान्साघरमा प्रयोग गरिने भाँडाहरु, सरसफाई पोषणयुक्त खानेकुरा र सफा पानीको उपलव्धता बारे प्रकाश पार्नु भएको थियो


त्यस्तै केन्द्रका वैद्य निरीक्षक राजेन्द्रप्रसाद ढुंगानाले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै हरेक नागरिकले आआफ्नो भान्सामा उपलव्ध हुने जडिवुटीलाई औषधीको रुपमा लिन र प्रयोग गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा आयुर्वेद केन्द्रद्वारा सञ्चालन हुँदै आएको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, पथ्य आहार कार्यक्रम लगायतका सेवा सुविधाको बारेमा पनि जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्