२०८१ मंसिर ७
                           

सिन्धु स्वास्थ्य परियोजनाको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

सिन्धु स्वास्थ्य परियोजनाको सामाजिक परीक्षण शुक्रबार भीमटारमा सम्पन्न भएको छ । महिला आत्मनिर्भरता केन्द्र र फेयरमेडको संयुक्त साझेदारीमा स्थानीय तहहरुसँगको समन्वयमा यो कार्यक्रम डेढ वर्षदेखि सञ्चालित छ ।
मेलम्ची नगरपालिका, चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाउँपालिकामा सञ्चालित कार्यक्रमको सामाजिक परीक्षण भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले पालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । महिला आत्मनिर्भरता केन्द्र तथा फेयरमेडले स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले संघसंस्थालाई काम गर्न सहज वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाउनुभयो ।


सामाजिक परीक्षण सहजकर्ता डम्बर रसिक भारतीले परियोजनाअन्तर्गत बीस महिनाको अवधिमा भएगरेका कामका साथै समुदायको अपेक्षा समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो । स्वास्थ्य क्षेत्रमा रहेका असमान खाडलहरुलाई पुर्दै, स्वास्थ्य संस्थाहरुलाई सबलीकरण गर्दै तोकिएका सीमान्तकृत समुदायलाई आधारभूत स्वाथ्यमा पहुँच बढाउने लक्ष्य यो परियोजनाले बोकेअनुसार संस्था आफ्नो लक्ष्यमा पुग्न सकेको प्रतिवेदनमा उल्लेख छ ।


कार्यक्रममा इन्द्रावती गाउँपालिका वडा न. १२ का वडाध्यक्ष सुरेन्द्र दनुवारले संस्थाले राम्रो काम गरिरहेको साथै भीमटार स्वास्थ्यचौकीले ल्याब सञ्चालनको उद्देश्य राखेकाले त्यसमा सहयोगको अपेक्षा राख्नुभयो । कार्यक्रममा स्वास्थ्य संस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वंयसेविका, आमा समूहका सदस्य, स्वयं हेरचाह समूहका सदस्य लगायतको उपस्थिति थियो ।


कार्यक्रममा सहभागीहरुले उठाएका सवालमा परियोजना व्यवस्थापक मनिषा हाडा, आत्मनिर्भरता केन्द्रका कार्यक्रम व्यवस्थापक कृष्ण गुरुङले जवाफ दिनुभयो । महिला आत्मनिर्भरता केन्द्रका अध्यक्ष सञ्चमाया स्याङ्बोले समुदायको अपेक्षा पूरा गर्नका लागि अन्य सहयोगी संस्थासँग हातेमालो गरेर भए पनि प्रयास गरिने प्रतिबद्धता जनाउनुभयो ।


बाह्रबिसे नगरपालिका, सुनकोशी र बलेफी गाउँपालिकामा सञ्चालित कार्यक्रमको सामाजिक परीक्षण बिहीबार सुनकोशी गाउँपालिका कार्यालयमा सम्पन्न भएको संस्थाका कार्यक्रम व्यवस्थापक कृष्ण गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्