२०८१ भाद्र २३
                           

इलाका प्रहरी कार्यालय मेलम्चीले गर्यो नागरिक सुनुवाई कार्यक्रम

सिन्धुपाल्चोक ,२२ पुस- मेलम्ची नगरपालिकामा आइतबार प्रहरीको नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रहरीको कार्यप्रगति प्रस्तुती संगै नागरिकको गुनासो तथा सुझाव संकलन गर्न इलाका प्रहरी कार्यालय मेलम्चीले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।प्रहरी सेवा प्रवाहलाई नागरिक मैत्री, पारदर्शी, निष्पक्ष, छिटो छरितो, चुस्तदुरुस्त बनाउनुका साथै सेवाग्राहीले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकका रचनात्मक सुझावलाई ग्रहण गरी जिम्मेवार प्रहरी सेवा बनाउने ध्येयका साथ नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रहरी निरीक्षक थापामगरले प्रहरी कार्यालयले चालु आ.व.मा गरेको कार्य विवरण प्रस्तुत गरेका थिए । गत साउन यता मात्रै प्रहरीले समुदाय प्रहरी साझेदारी अन्र्तगत बिभिन्न ६९ वटा कार्यक्रमहरु सम्पन्न गरीएको बताउनुभयो । जसमध्ये सवारी चालक तथा सहचालकहरुका लागि स्वास्थ्य शिविर संचालन, चोरी डकैती, घरेलु तथा लैँगिक हिँसा रोकथाम, सवारी दुर्घटना न्यूनीकरणका उपाय लगायतका बिषयमा स्थानीय तथा जनप्रतिनिधीहरु संगको छलफल, माध्यामिक विद्यालय स्तरीय सम्पर्क समितिहरु गठन जस्ता बिभिन्न कार्यहरु सम्पन्न गरीएको बताउनुभयो ।

यस्तै इलाका प्रहरी कार्यालय मेलम्चीले कार्यालयको सिमा क्षेत्रमा नयाँ चेकपोइन्ट संचालन, दुर्घटना संम्भावित क्षेत्रको पहिचान र सचेतनाका लागि पुरानो मोटरसाइकलको अस्थिपञ्जर राखिएको, मेलम्ची बजार क्षेत्रमा बढ्दो सुरक्षा चुनौति समाधानको लागि बिभिन्न स्थानमा सिसिटिभी जडान, नागरीक सहायक कक्ष सिसिटिभी मोनिटरिङ कक्ष स्थापना, अबैध ढुङगा खानीहरु बन्द, सडकमा बस्ने वेवारिसे मानिसको उद्धार, प्रहरी कार्यालयको भौतिक संरचनाको सुरक्षाको लागि पर्खाल निर्माण जस्ता महत्वपूणर् कार्यप्रगति पनि प्रस्तुत गर्नुभएको थियो ।

कार्यालयले यस आ.व.को हालसम्म अपराध अनुसन्धान तर्फ बिभिन्न शिर्षकमा ३६ वटा मुद्धा दर्ता गरी अपराधी नियन्त्रण गर्नमा उल्लेख्य सफलता हासिल गरेको पनि जानकारी दिनुभयो ।मेलम्ची क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षा चेकजाँचमा कडाई गर्दे ट्राफिक प्रहरी संगको समन्वयमा साउन यता मात्रै बिभिन्न शिर्षकमा ७२३ पटकको कारवाहीमा ८५९०००/ (अक्षरुपी आठ लाख उनान्साठ्ठी हजार ) राजश्व संकलन गर्न समेत सफल भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागिहरुले मेलम्चीबजार क्षेत्रमा भएको अव्यवस्थित पार्किङ, सडकपेटी मिचेर व्यापारीहरुले व्यवसाय संचालन गर्दा नागरिकमा परेको समस्या, यातायात व्यवसायीले तोकीएको भन्दा बढी भाडा असुल गर्ने, दिनै पर्ने छुटहरु नदिने जस्ता गुनासा व्यक्त गरेका थिए । सोही क्रममा नागरिकबाट आएका गुनासाहरुलाई यथासक्य समाधान गर्न लागि पर्ने प्रहरी निरीक्षक थापामगरले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सोही अबसरमा मेलम्ची नगरपालिकाका महिला बालबालिका तथा समावेशीकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जेष्ठ नागरिकहरुका लागि सबै वडाहरुमा स्वास्थ्य शिविर संचालन गरिएको जानकारी दिनुभयो । यस्तै मेलम्ची बजार क्षेत्रमा भईरहेको अव्यवस्थित सवारी पार्किङको समस्या केही दिनमा समाधान हुने पनि बताउनुभयो । उहाँले निर्माणाधिन बसपार्कको काम अन्तिम चरणमा रहेकोले अब छिट्टै बसपार्क संचालनमा आउने जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी निरीक्षक थापामगरले शान्ती सुरक्षाको वर्तमान स्थिती, चुनौती र कार्यालयको भावी रणनीतिक कार्य योजना समेत प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्