हेल्पले इन्द्रावती गाउँपालिका वडा नम्बर ११का ३ विद्यालयमा झोला लगायत शैक्षिक सामग्री वितरण गरेको छ । इन्द्रावती गाउँपालिका ११ बोर्डगाउँ स्थित सेतीदेवी माध्यमिक विद्यालय,परोपकार आधारभूत विद्यालय र बिसदेउटार आधारभूत विद्यालयका गरि ३२२ जना विद्यार्थीलाई सामग्री वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले अति सीमान्तकृत जनजातिका बालबालिकाले गुणस्तरीय शिक्षा पाउन भन्ने उदेश्यले गरिएको सहयोग प्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । उहाँले शिक्षा विना समाज र समुदायका कुनैपनि विकास संभव नभएको भन्दै शैक्षिक समृद्धिको आवस्यकता रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले शिक्षालाई गाउँपालिकाले प्रमुख प्राथमिकता दिएको जानकारी दिदै सिकाइ उपलब्धीलाई वृद्धि गर्ने उदेश्यले शिक्षाका क्षेत्रमा गाउँपालिकाले गरेका कामका बारेमा जानकारी गराउनुभयो । पालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धीलाई आगामी शैक्षिकसत्रमा ७० प्रतिशत पुर्याउने उदेश्यले अहिले काम भरहेको दावी गर्नुभयो । दक्ष शिक्षक,कुशल अभिभावक,जागरुक विद्यार्थी भएमा मात्र शिक्षाको गुणस्तर वृद्धि हुने भएकाले सोही अनुसार योजनाबद्ध भएर कार्यगर्न आग्रह गर्नुभयो । जिमि लामाले संस्थाले शैक्षिक क्षेत्रमा गरिरहेका कामको बारेमा जानकारी गराउदै २२ हजार ३०८ जना विद्यार्थीहरु माझ यस्ता कार्यक्रम पुगेको जानकारी दिनुभयो ।
उहाँले सामुदायिक विद्यालयमा विद्यार्थीलाई टिकाउन शिक्षा प्रतिको लगाव बढाउनका लागी यस्ता कार्यक्रम गरिएको प्रष्ट पार्नुभयो । उहाँले शिक्षाको महत्त्व बारे बुझाउदै अभिभावक हरुमा आफ्नो बालबालिकाको भविष्य बारे चासो र चिन्ता गर्न आग्रह गर्नुभयो । भविष्यको मार्गनिर्देश गर्ने विद्यालयले नै भएकाले शिक्षक,अभिभावक र विद्यार्थीहरुमा अहिलेनै मिहेनत गर्न आग्रह गर्नुभयो । वडा नम्बर ११का वडा अध्यक्ष रामजी माझी,निवर्तमान वडा अध्यक्ष मने माझीले सहयोगका लागी संस्थालाई धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरुमा विद्यालय नियमित रुपमा आउन आग्रह गर्नुभयो ।
उहाँले निजी विद्यालयले जस्तै गरि सामुदायिक विद्यालयले पनि गुणस्तरीय र अब्बल शिक्षा दिन सक्ने हुनाले लगनशील भएर अध्ययन गर्न आग्रह गर्नुभयो । अभिभावक र विद्यार्थी हरुको शिक्षा प्रतिको लगाव घट्दै गएकोमा उहाँहरुले चिन्ता व्यक्त गर्नुभयो । सक्षम र मजबुत हुन आग्रह गर्नुभयो । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष मोहन माझीको अध्यक्षतामा भएको कार्यक्रममा सेतीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक तोकप्रसाद नेपालले स्वागत मन्तव्य राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्