२०८१ भाद्र २३
                           

पढाइसँगै करेसाबारीमा ब्यस्त विद्यार्थी

सिन्धुपाल्चोक ,२४ फागुन
सम्झना कार्की- ईन्द्रवती  गाँउपालिका वडा नम्बर ५ स्थीत ऐसेलुखर्क माध्यमिक बिद्यालयको परिसरमा विद्यार्थीहरु  तरकारी खेतीमा व्यस्त रहने गरेका छन्। विद्यालयमा कृषि शिक्षा पढाइ हुन थालेपछि यहाँका विद्यार्थीले विद्यालय परिसर र आ–आफ्नो घरमा समेत तरकारी खेती गर्न थालेका छन्। विद्यार्थीलाई कृषि शिक्षामा आकर्षित गर्ने उद्देश्यले यस विद्यालयले कक्षा ९ देखि कृषि प्राविधिक विषय पढाउँदै आएको छ।

हाल दुई वटा टनेलमा टमटार लगाईएको छ। विद्यालयको हाताभित्र गरिएको  खेतीबाट विद्यार्थीमा कृषिप्रति उत्प्रेरणा दिँदै आधुनिक कृषि कर्म गर्ने अभिभावकलाई फाइदा पुग्ने लक्ष्य बिद्यालयले लिएको छ। तरकारी खेतीमा काम गर्ने किसान नभई विद्यालयमा अध्ययनरत विद्यार्थी छन् ।

विद्यालय तहबाटै कृषितर्फ विद्यार्थीको उत्प्रेरणा जगाउन  नमुनाका रूपमा केही विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ लागू भईरहदा यस बिद्यालयले पनि करेसाबारी सुरुवात गरेको हो। आफूहरूले जमिन तयार पार्ने, बिउ जमाउनेदेखि फल टिप्नेसम्मका व्यावहारिक शिक्षा पाएको विद्यार्थी बताउँछन्।

कृषि विषय लिएर कक्षा ११ मा अध्ययरत  विद्यार्थी रोजन तामाङ कृषिसम्बन्धी सिकाइ भइरहेको बताउँनुहुन्छ। “हामीले बारीमा काम गर्न रुचि नै देखाउने गरेका थिएनौँ। घरमा आमाबुवाले बारीमा काम गर्दा हामीले कहिल्यै चासो दिएनौँ”, उहाँ भन्नुहुन्छ, “अब विद्यालयमा पढाइ नै हुन थालेपछि सिक्न थाल्यौँ, अब घरमा अभिभावकलाई पनि तरकारी खेती गर्ने तरिकाबारे सिकाउँदै छौँ , आफै घरमा आलु ,रायो ,सिमिहरु लगाएर राम्रो आम्दानी गरेको छु। बल्ल कृषि पनि पढाइ रहेछ भन्ने बुझ्न थालेका छौँ ।”

विद्यालयले करेसाबारीमा उत्पादित तरकारीलाई दिवा खाजा र होस्टमा लाने गरिएको छ। कृषि पेसालाई व्यावसायिक बनाउन तथा कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि  अभिप्रेरणा दिन बिद्यालयले ‘विद्यालय ’ सञ्चालन गरेको छ। करेसाबारी सञ्चालन हुँदा आफूले विद्यालयमा सिकेको कृषि ज्ञानलाई घरमा आफ्ना आमाबुवालाई जानकारी गराउने गरेको सुनिला तामाङ बताउनुहुन्छ।

“तरकारी खेतीबारे सिकाइसँगै मिलेर काम गर्दा रमाइलो हुन्छ। हामी रमाउँदै खेती गर्न सिकिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “हामीले नयाँ प्रविधि र नयाँ अभ्यास सिकिरहेकाले अभिभावकलाई पनि सिकाउँछौँ।” करेसाबारी कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीलाई कृषिसम्बन्धी जानकारी पाउन सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिना थापाले बताउँनुभयो। यसले विद्यार्थीलाई विद्यालय र कृषि पेसाप्रति हौस्याएको उहाँको भनाई छ।

यहाँ कृषिसम्बन्धी पढाइ गर्दै व्यवहारिकरूपमा करेसाबारीमै काम सिकाइन्छ। शिक्षकको सिकाउने तरिका र विद्यार्थीको लगनशीलताले यहाँका विद्यार्थीले तरकारी फलाउँन थालेका हुन्। सिजन अनुसार सिमि ,टमटार लगायत खेती गदै आईरहेको प्राल्न्ट विज्ञान विषयका शिक्षक निराजन बन्जाडेले बताउँनुभयो ।

उहाँ भन्नुहुन्छ, “कृषि विषयमा अध्ययनरत विद्यार्थीलाई प्राक्टिकल रुपमा सिकाउदा धेरै ज्ञान हासिल गर्ने भएकोले पनि यो करेसाबारी तयार गरेका हौँ। यसरी विद्यालयमा विद्यालय करेसाबारीले विद्यार्थीमात्र नभई उहाँहरूको घरमा कृषि कर्ममा परिवर्तन भई घरको आर्थिक अवस्थामा सुधार ल्याउनमा मद्दत पुग्नेछ।”

कृषिसँगै सबैको जीवन जोडिएकाले कृषिका बारेमा जानकार रहनु अत्यावश्यक रहेको शिक्षक बन्जाडेको भनाइ छ।  विद्यालयमा कृषि शिक्षा पठनपाठन सगैँ करेसाबारीले यहाँ निकै प्रभावकारी भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्