२०८१ भाद्र २३
                           

इष्ट पोइन्टको ११ औं बार्षिकोत्सब सम्पन्न

इष्ट पोइन्ट एकेडेमी हेलम्बु -४ शेराको ११ औं बार्षिकोत्सब, पुर्व प्राथमिक तहको दिक्षान्त एवम् अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले मेलम्ची बाढीले बगाएर ध्वस्त बनाएको विद्यालय यो अवस्था सम्म आएकोमा खुशी लागेको बताउनुभयो । उहाँले आम अभिभावक,विद्यार्थी र विद्यालय संचालक हरुमा एक्कासि आएको चुनौतीलाई पार गर्दै बालबालिकाको भविष्य उज्ज्वल बनाउन लागी विद्यालयले गरेको कार्य प्रशंसा योग्य रहेको बताउनुभयो । अरुलाई गाली गरेर देश नबन्ने भएकाले देश हामीले र हाम्रा विद्यार्थी हरुलेनै देश बनाउन सक्ने बताउनुभयो । विदेश गएर देश नबन्ने स्पष्ट पार्दै मन्त्री दुलालले विद्यालय स्तरमै विद्यार्थी हरुलाई देश बनाउनका लागी मार्गनिर्देश गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री दुलालले आफ्नो लागी मात्र नभएर समाज र देशको लागी सेवा गर्नपर्छ भन्ने भावको विकास हुनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीको इच्छा र आकाङ्क्षा अनुसार अगाडि बढ्नका लागी प्रेरित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले इष्ट पोइन्ट एकेडेमीले हेलम्बु शिक्षाको सवालमा शिर उच्च राखेको बताउनुभयो । आफ्नो बालबालिकाको भविष्य माथी खेलवाड नगर्नको लागी बनेका निति नियम भन्दा माथी उठेर आफ्नो छोरालाई इष्ट पोइन्टमा भर्ना गरेको प्रष्ट पार्नुभयो । उपाध्यक्ष लामिछानेले शिक्षक,अभिभावक र विद्यार्थीले शिक्षा क्षेत्रमा गरेको कामलाई यहाँका अन्य विद्यालयहरुले सिक्नुपर्ने बताउनुभयो । आफुले गरेका कामको बारेमा मुल्यांकन गर्न आग्रह गर्नुहुँदै उपाध्यक्ष लामिछानेले बाढीपछि विद्यालयले गरेको आँट र साहसको चर्चा गर्नुभयो ।

कार्यक्रममा हेलम्बुका समाजसेवी हस्त पण्डितले मानिस प्रगतिशिल र आसाको दियो बाल्न सक्ने प्राणी भएकाले नै बाढिले ध्वस्त भएको हेलम्बु र हेलम्बुको शिक्षालाई यो उचाई सम्म पुर्याउन संभव भएको बताउनुभयो । पण्डितले हेलम्बु प्राकृतिक रुपमा सम्पन्न र हराभरा रहे पनि बाटो,पुर्वाधार लगायत अन्य सुविधा नभएका कारण अहिले पर्यटक हेलम्बु आउन छाडेको बताउनुभयो । शिक्षामा लगानी गरेपनि त्यसको प्रतिफल पाउन नसकेको बताउनुभयो ।

कार्यक्रममा तेर्से माध्यमिक विद्यालयले आयोजना गरेको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका स्तरीय गणित दौड प्रतियोगितामा प्रथम गणेश ज्योतिलाई सम्मान गरिएको थियो भने पुर्व प्राथमिक तहका विद्यार्थीहरुलाई दिक्षित समेत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले उस्सु,सन्देश मुलक नाटक,नृत्य तथा शिक्षकहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बलराम लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा हेलम्बु गाउँपालिका शिक्षा शाखाका भिम कार्की,समाजसेवी अम्बरबहादुर पण्डित, मेलम्ची भ्याली क्याम्पसका अध्यक्ष दिपक लामिछाने,अन्य विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि,अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्