२०८२ बैशाख ६
                           

सुनकोसी नदीमा कायकिङ प्रतियोगिता सुरु – खड्का, गुरुङ र माझी प्रथम 

चौतारा/ सिन्धुपाल्चोकको पर्यटकीय स्थल सुकेटेस्थित सुनकोसी नदीमा दोस्रो राष्ट्रिय कायकिङ प्रतियोगिताको आयोजना गरिएको छ ।

जल पर्यटनको प्रवर्द्धन गर्ने हेतुले आयोजित प्रतियोगितामा ३२ खेलाडीको सहभागिता रहेको आयोजक संस्था भोटेकोसी एड्भेन्चर क्लबले जनाएको छ ।

जम्मा ४ विधामा प्रतिस्पर्धा रहेको प्रतियोगिता अन्तगर्गत मंगलबार २ विधाको प्रतियोगिता सम्पन्न भएको नेपाल र्‍याफि्टङ एसोसिएसन नाराका महासचिव नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

महासचिव श्रेष्ठका अनुसार स्प्रिन्ट, हेड टु हेड विधाको प्रतियोगिता आज सम्पन्न भएको छ ।

स्पिन्ट विधामा पुरुषतर्फ कृष्ण खड्का, प्रमोद गुरुङ र बिक्रम गुरुङ क्रमशः प्रथम द्धितीय र तृतीय हुनुभएको छ भने महिलातर्फ अनिता कार्की, सम्झना माझी र पविता मगर क्रमशः प्रथम, दितीय र तृतीय हुन सफल हुनुभएको छ ।

हेड टु हेड विधातर्फ भने प्रमोद गुरुङ विक्रम गुरुङ र कृष्ण खड्का क्रमश प्रथम द्वितीय र तृतीय हुनुभएको छ। महिलातर्फ अनिता कार्की प्रथम हुनुभएको छ भने द्वितीय र तृतीय तर्फ क्रमश पविता मगर र सम्झना माझी हुनुभएको छ।

स्लालम र डाउन रिभर रेष्ट प्रतियोगिता भोलि हुनेछ ।

 

प्रतियोगिताको उद्घाटन बलेफी गाउँपालिका अध्यक्ष गंगा तामाङले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले पर्यटन प्रवर्द्धनले रोजगारीको सिर्जना हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले पर्यटकीय रुपमा परिचित सिन्धुपाल्चोकको सुकुटे क्षेत्रलाई जल पर्यटनले अझ टेवा पुर्याउने हुँदा सम्भावित साहसी जल खेलकुदको आयोजना गर्नुपर्ने बताउनुभयो। चौतारा सांगाचोकगढी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिमल श्रेष्ठले पर्यटन प्रवर्द्धनका लागि वडा सधैं समर्पित रहने प्रतिबद्धता जाहेर गर्नुभयो। सिन्धुपाल्चोक पर्यटन बोर्डका अध्यक्ष एवं नारका महासचिव नारायण श्रेष्ठले सिन्धुपाल्चोकको पर्यटकीय स्थलहरूलाई पहिचान गर्दै अझ जल पर्यटनको विकास गर्न सकियो भने वार्षिक लाखौंको संख्यामा पर्यटन भित्रिने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्