जनस्वास्थ्य अधिकृत समी भण्डारीले प्रत्यक पालिका भित्रको ४ स्वास्थ्य आमा समूह मार्फत ३ लाख अनुदानमा सुधारिएको चुल्हो सहित फिल्टर, पानी ट्याङ्की सहितको सफा जुठेल्नो निर्माण, कुटानी पिसानी मिल लगायतका कार्यक्रम संचालन गरिने बताउनुभयो । मातृ तथा बाल पोषण प्रवर्द्धनका लागि साना अनुदान आयोजनाका लागि पालिका सँगको समन्वयमा सुचना प्रकाशित भएपछि स्वास्थ्य आमा समुहले प्रस्ताव पेश गर्नुपर्ने छ । कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य आमा समूह वैधानिकरूपमा गठन गर्नुपर्ने, अनिवार्य पान नम्बर लिनुपर्ने समेत कार्यविधिमा उल्लेख गरीएको जनस्वास्थ्य अधिकृत भण्डारीले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा गत वर्ष कार्यक्रम कार्यान्वयन गरेका स्वास्थ्य आमा समूहहरुले कार्यक्रम महत्वपूर्ण भए पनि नीति नियम नजान्दा कार्यान्वयन झन्झटिलो भएको गुनासो गरेका थिए । गत वर्ष आर्थिक वर्षको अन्तिमतिर कार्यक्रम सञ्चालनका लागि जानकारी आएकोले कार्यक्रम कार्यान्वय गर्न नसकिएको भोटेकोसी गाउँपालिकाका स्वास्थ्य संयोजक भूपेन्द्रलाल श्रेष्ठले बताउनुभयो । कार्यक्रममा स्वास्थ्य आमा समूहहरुले नीतिगत प्रक्रिया नजान्दा कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य आमा समूह वैधानिक रूपमा गठन गर्नुपर्ने, अनिवार्य पान नम्बर लिनुपर्ने जस्ता कुराले झन्झट भएको बताए ।
स्वास्थ्य प्रमुख दुर्गा बजगाईंले गतवर्ष सञ्चालित कार्यक्रमको प्रगति, औचित्य र भावी योजनाको बारेमा प्रष्ट पार्दै सम्झौताका लागि यो वर्ष स्वास्थ्य कार्यालय चौतारा धाउनु नपर्ने योजना बनाएको बताउनुभयो । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा आयोजित साना अनुदान कार्यक्रमको समीक्षा तथा भावी योजना तर्जुमा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदम नाथ नेपाल, हेलम्बु गाउँपालिकाका उपप्रमुख अप्सरा लामिछाने, लिसंखुपाखरका उपप्रमुख मिठूदेवी लामा र पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, चौतारा अस्पतालका अध्यक्ष टंक कार्कीले कार्यविधि संशोधन गर्दै कार्यक्रम कार्यान्वयनमा सहजता ल्याइनुपर्नेमा सुझाव दिएका छन् ।
यसैगरी कार्यक्रममा सिन्धुपाल्चोकबाट ललितपुरमा सरुवा भएका खोप अधिकृत राजाराम कार्कीलाई समन्वय प्रमुख श्रेष्ठले मायाको चिनो प्रदान गर्दै विदाइ समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्