चैत्र २५, विजय कृष्ण श्रेष्ठ – नेकपा (एमाले) सिन्धुपाल्चोकको दशौं जिल्ला अधिवेशन भर्खरै भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । जिल्लाको नीति र नेतृत्व तहको सर्वोच्च निकाय यो अधिवेशनलाई सफल बनाउन आ–आफ्नो ठाउँबाट बिभिन्न ढङ्गले सहयोग गर्नुहुने, काममा खट्नु हुने र शुभेच्छा राख्नु हुने सम्पूर्ण एमाले प्रेमी दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक धन्यवाद् ज्ञापन गर्दछु ।
अधिेवेशनको सबै चरणमा सहभागी हुनु भएका प्रतिनिधि, स्वयंसेवक तथा पर्यबेक्षक मित्रहरु, प्रति हार्दिक आभार ब्यक्त गर्दछु । आयोजक कमिटी र जिल्लाबाट प्रदेश कमिटी, केन्द्रीय कमिटीमा नेतृत्व गर्ने नेताहरु एवं जिल्ला इन्चार्जको भूमिकामा रहनु भएका नेता कमरेडहरु प्रति कृतज्ञता ज्ञापन गर्दछु ।
दशौं अधिवेशन मार्फत आगामी कार्यकालको लागि म र कमरेड शिबहरी सापकोटाले उपसचिव पदमा दाबी प्रस्तुत ग¥यौं । बिधि र बिधान अनुसार हामी दुबैजना उपसचिव हुन संभबै थिएन । हामी दुबै जनालाई प्रतिनिधि मित्रहरुले करिब बराबरीकै हाराहारीमा मत दिनु भयो । तर अंकगणित मेरो निम्ति पर्याप्त हुन सकेन ।
मत परिणामले आगामी अबधिको लागि उपसचिवको जिम्मेवारी कमरेड शिबहरी सापकोटाको काँधमा राखि दिएको छ । कमरेड शिबहरी सापकोटा र निर्वाचित सबैलाई बधाइ तथा शुभकामना दिन्छु ।
निर्वाचन भनिएपनि प्रतिनिधि मित्रहरुको मत तानातान गर्ने, उहाँहरुलाई अप्ठेरोमा पार्ने वा कोहि कसै मार्फत भन्न लगाउने जस्ता कुराहरु ठीक होइन । सार्वभौम प्रतिनिधिहरुले आफ्नो अधिकार स्वतन्त्र ढङ्गले प्रयोग गर्न पाउनु पर्छ भन्ने मेरो मान्यता हो । पार्टी निर्माण र रक्षामा निरन्तर खटिंदै आउनु भएका प्रतिनिधिहरुले विवेकपूर्ण तरीकाले नेतृत्व छान्नु भएको छ ।
जनताको बहुदलीय जनवादको आलोकमा हुने यस्ता आवधिक अधिवेशनमा हुने नेतृत्व छनौटको प्रकृयालाई निर्वाचन नामाकरण गरिएपनि सारमा यो निर्वाचन होइन । किनभने कुनै औपचारिक पदको लागि प्रतिनिधिहरुसँग मत माग्ने, उहाँहरुलाई तानातानमा पार्ने होइन, प्रतिनिधिहरुले पार्टी नेतृत्वको लागि अधिकार र शक्ति सुम्पने प्रकृया हो अधिवेशन ।
जिल्लामा पार्टी सञ्चालनको लागि पार्टीको बिधानले निर्धारण गरेको बिधि र पद्धति अनुसार उहाँहरुले निश्चित अबधिका लागि अख्तियारी प्रदान गर्नु हो । यसो भएको हुँदा अंकगणितको हिसाब वा औपचारिक पदको बिषय गौण बन्नुपर्दछ । नेतृत्वमा को को परे वा को को परेनन् भन्ने बिषयले प्रवेश पाउँनु हुँदैन ।
प्रमुख कुरा त लेनिनवादी संगठनात्मक सिद्धान्त अनुसार सामुहिक नेतृत्व रहने हुनाले पार्टी सबैको हो, पार्टी निर्माण गर्नु, सुदृढ र विस्तार गर्नु, रक्षा गर्नु हामी सबैको सामुहिक जिम्मेवारी हो । यो अधिवेशनले तोकेको कार्यभार र दायित्वहरु पूरा गर्न कार्ययोजनाका साथ अघि बढ्नु, जिल्ला अधिवेशनले गरेका निर्णयहरुलाई परिणाममुखी ढङ्गले कार्यान्वयन गर्नु नै जिल्ला कमिटीको अर्जुनदृष्टि हुनुपर्दछ ।
केहि एमाले नेताहरुले सामाजिक सञ्जालमा पोतेका शब्दहरु मात्र होइन, एमाले प्रति आस्था र विश्वास राख्ने मिडियाका कतिपय समाचारहरुले पनि नेतृत्व छनौटको बिषयमा गलत सन्देश दिएको छ । पार्टी र जनसंगठनका जिम्मेवार नेताहरुबाटै प्रस्तुत त्यस्ता अभिब्यक्तिले पार्टी हित गर्दैन
। जिल्ला कमिटीमा कस्का प्यानलका धेरै भए, कस्का प्यानलका कम भए वा प्रमुख पदमा कुन प्यानलका को भए भन्ने कुराले पार्टीलाई एकढिक्का बनाउँदैन ।
एमाले भित्र कोहि कसैको प्यानल छैन, ब्यक्ति बिशेषको समूह छैन, आग्रह–पूर्वाग्रह र पक्षपात छैन । छ भने एउटै प्यानल छ, त्यो प्यानल भनेको एमालेको सिङ्गो प्यानल हो, एक ढिक्का प्यानल हो, अक्षुण्ण प्यानल हो, कसैले फुटाउन नसक्ने चट्टानी प्यानल हो । अधिवेशन वा नेतृत्व छनौट गर्नु भनेको पार्टी कब्जा गर्नु होइन ।
कोहि नेता बिशेषको पहुँच, पावर र शक्ति प्रदर्शन गर्ने वा हैसियतको आकार देखाउने थलो होइन । अधिवेशनको मूल अभिप्राय भनेको नीति र नेतृत्वको अध्यावधिक हो, प्रतिनिधि मार्फत पार्टी सदस्यहरुले गर्ने नीति र नेतृत्वको अनुमोदन हो ।
अर्को अधिवेशन नभएसम्मको लागि पार्टी सदस्यहरुले तय गरेको दिशानिर्देश हो । यसर्थ पार्टीलाई एकिकृत ढङ्गले अघि बढाउने हामी सबैको असल मनसाय हो भने अब यस्ता वाइयात शब्दको उच्चारण पनि गर्नु हुँदैन ।
यस्ता चरित्र र प्रबृत्तिले पार्टीलाई घाटा बाहेक फाइदा पु¥याउँदैन । आफ्नो आङ कन्याएर धुलो उडाउने प्रबृत्तिले अन्य दलका मान्छेहरुलाई मनोरञ्जन त देला, तर आम पार्टी पङ्तीलाई उत्साहित बनाउन सक्दैन ।
पार्टीको महाधिवेशन वा अधिवेशन हुँदा अनेरास्ववियुबाट राजनीतिक यात्राको आरम्भ गरेका वा अखिलमा समाहित भएका पार्टी सदस्यहरुको महत्वपूर्ण सहभागिता रहने गर्दछ । हाम्रो पार्टी नेकपा (एमाले) का महासचिव क.शंकर पोखरेल अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदा म अखिलको जिल्ला नेतृत्वमा थिएँ ।
यो अधिवेशनमा मुख्य पदहरुमा अखिलबाटै राजनीति गरेका साथीहरु मुख्य प्रत्याशी रहे । धेरैजसो त मभन्दा जुनियर साथीहरु नै निर्वाचित हुनु भयो ।
पार्टी काममा निरन्तर रुपमा क्रियाशील प्रत्याशी बन्नु भएका र निर्वाचित हुनु भएका कमरेडहरुलाई बधाइ ज्ञापन गर्दछु । म पनि तीन दशकभन्दा अघिदेखि नै अविचलित रुपमा अखिल र एमालेको राजनीतिमा छु । नेतृत्वको बिषयमा दशौं अधिवेशनले जे जस्तो अंक गणितको परिणाम दिएपनि यो परिणाम पार्टी गणितको एउटा सानो शाखा मात्र हो ।
मूल कुरा त पार्टी गणितको हो र पार्टी गणितको सहि हिसाब मिलाउनु हामी सबैको कर्तब्य हो । जिम्मेवारी सानो वा ठूलो हुँदैन र पार्टी तथा जनसंगठनको काम गर्न कुनै औपचारिक पद नै चाहिन्छ भन्ने पनि लाग्दैन ।
त्यसो त यो अधिवेशनले महत्वपूर्ण कार्यभारहरु पनि सुम्पेको छ । बिशेषगरी भुईं तहका जनतासँग टाढिंदै गएको पार्टी सम्बन्धलाई फेरि मजबुत बनाउनु छ । बैचारिक रुपमा भुत्ते हुँदै गएको जन संगठनलाई धारिलो बनाउनु छ ।
हाम्रो पार्टी भित्र अन्य दलका नेताले खेल्ने स्पेशको निर्मूल गर्नुछ । पार्टीको निर्णय र योजनामा ब्यापारी र एलिट वर्गले पार्ने प्रभावको नष्ट गर्नुछ ।
पार्टीको सुद्धिकरण र गुणात्मक विकास गर्नुछ । एमाले जनताको पार्टी हो, एमालेले मात्र जनताको समग्र अवस्थामा परिवर्तन गर्न सक्छ भन्ने मान्यतालाई पुनःस्थापित गर्नुछ । अनि जिल्ला अधिवेशनले पारित गरेका नीति, कार्यक्रम र योजनालाई सिर्जनात्मक र वस्तुगत ढङ्गले कार्यान्वयन गर्नुछ ।
बिपक्षीको आक्रमणलाई कौशलतापूर्वक निस्तेज पार्दै सुदृढ र सशक्त एमाले बनाउनु छ । निष्कर्षमा सिन्धुपाल्चोकमा, जुगल हिमालको चुचुरोमा एमालेको झण्डा फहराउनु छ ।
औपचारिक जिम्मेवारीमा नभएपनि पार्टीको यो महत्वपूर्ण काममा मेरो निरन्तर सहभागिता हुने नै छ । सबै कमरेडहरुमा पुनः बधाइ तथा शुभकामना ब्यक्त गर्दछु ।
प्रतिक्रिया दिनुहोस्