२०८१ मंसिर ६
                           

मुख्यमन्त्री जम्कट्टेलले गरे कुविण्डे खोलाको पुल उद्घाटन

बैशाख १०, सिन्धुपाल्चोक ।  चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ स्थित कुविण्डे खोलामा निमार्ण सम्पन्न पक्की पुलको सोमबार उद्घाटन गरीएको छ ।

बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले पुल उद्घाटन गर्दै चौतारा भालुवन बतासे हुदै जुगल जोड्ने सडक स्तरोन्नती सहित कालोपत्रेको योजना आगामी वर्षबाट सुरु गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

सम्झौताको समय भन्दा ७ महिना अघि ११ महिनामा पुलको काम पूरा भएर सञ्चालनमा आएको हो । प्रतिनिधि सभा क्षेत्र नं.१ का सांसद माधव सापकोटाले पैसा भएपनि निमार्ण कम्पनीबाट समयमा काम नहुदा समस्या र दिकदारी बढीरहेको अवस्थामा निर्धारित समय भन्दा अघि गुणस्तरीय ढंगबाट  काम सम्पन्न गरेको भन्दै निमार्ण कम्पनी हिम निर्माण सेवा काठमाडौंको प्रशंसा गर्नुभयो ।

खाले, किटिने, भुस्लुङ,बतासे जस्ता बस्तीमा जान स्थानीयले बेहोर्नु परेको पीडाको सम्बोधन गर्न चौतारा साँगाचोकगढी नगरपालिकाले कुविण्डे खोलामा पुल निर्माणको लागी बनाएको योजनाले पूर्णता पाएको हो ।

वर्षातमा बाइक र गाडि तार्न तथा ओहोर दोहोर गर्न गाह्रो हुने भएपछि पुल निर्माणले प्राथमिकता पाएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटाले पुल निर्माण सम्पन्न भएपछि  खुसी व्यक्त गर्दै प्रदेश सरकारलाई धन्यवाद दिनुभयो ।

बागमती प्रदेशको राजधानी हेटौंडा पुगेर मुख्यमन्त्री जम्कट्टेललाई पुलको आवश्यकताबारे जानकारी गराउँदै बजेट विनियोजन गरिदिन गरेको आग्रह स्मरण गर्दै मेयर सापकोटाले प्रदेशले नै बजेट छुट्याएपछि सजिलो भएको बताउनुभयो ।

 

वर्षातका बेला कुविण्डे खोलाबाट आवत जावत गर्न कठिन भएपछि पूर्व सभामुख अग्निप्रसाद सापकोटाले पुलको विस्तृत परियोजना प्रतिवेदन डिपिआरको कार्य अघि बढाएका थिए ।

नगर प्रमुखमा कृष्ण प्रसाद सापकोटा निर्वाचित भएपछि माथिल्लो भेगका बस्तीका लागि सहजता प्रदान गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेर पुलको काम अघि बढेको थियो ।

कुविण्डे खोलामा पुल बनेपछि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं २ र ३ का १९ सय घरधुरी लाभान्वित भएका छन् । ५ करोड ६४ लाख लागतमा उक्त पुल निर्माण गरीएको हो ।

पुल उद्घाटन सभामा प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य, भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वधार निर्देशनालयका निर्देशक पुष्कर प्रसाद पोखरेल, वडा नं।

३ का वडा अध्यक्ष टेकबहादुर तामाङ , पूर्वाधार विकास कार्यालयका प्रमुख भरत कुमार यादव  लगायतले गन्तब्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्