२०८१ भाद्र २३
                           

आजदेखि सुरु हुने तेस्रो लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता सहभागि हुदै

बैशाख १६ – आइतबारदेखि शुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर १ हजार ६ सय जनाभन्दा धेरैको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सय जनाभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ वटा देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् ।

सम्मेलनमा नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ । यस्तै चीनका दुई सय ६५, भारतका एक सय ४३, अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (यूएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् ।

दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ÷नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । पाकिस्तानबाट आठ, सिङ्गापुरबाट छ, कतार र घनाबाट पाँच÷पाँच, साउदी अरब, फ्रान्स र बहराइन बाट चार-चार जनाको सहभागिता रहने जनाइएको छ । अरू देशबाट तीन वा त्योभन्दा कम सङ्ख्यामा सहभागी हुने निश्चित भएको बोर्डले जनाएको छ ।

आजदेखि काठमाण्डौमा आयोजना हुने सम्मेलनका लागि एक सय ५० आयोजना सो केसमा राखिँदैछन् । यस्तै सम्मेलन स्थलमा २३ वटा प्रदर्शनी कक्ष रहनेछन् । सम्मेलनका क्रममा विभिन्न १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कुल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् ।

पहिलो दिन आज उद्घाटन सत्र र दुई वटा मुख्य सत्र रहेका छन् । त्यस्तै दोस्रो दिन भोली ११ समानान्तर सत्र सञ्चालन हुनेछन् । विदेशी तथा स्वदेशी लगानीकर्तालाई सम्मेलनमार्फत नेपाल लगानीका लागि आकर्षक गन्तव्यका रूपमा रहेको सन्देश दिइने लगानी बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्