२०८१ भाद्र २३
                           

कञ्चन प्रियदर्शीको २२ औ स्मृतिमा कविता वाचन

बैशाख १६, सिन्धुपाल्चोक । साहित्यकार तथा पत्रकार कञ्चन प्रियदर्शीको २२ औ स्मृति कविता वाचन गरेर मनाएको छ । स्वर्गिय कञ्चन प्रियदर्शीको जन्मस्थान चौतारा साँगाचोकगढी नगरपालिका– ६ पीपलडाँडामा आयोजित स्मृति सभामा कविता वाचन गरिएको हो ।
यहाँ प्रियदर्शीको सम्झनामा सालिकसहितको स्मृति पार्क निर्माण गरिएकोे छ । सो पार्कमा उनका परिवार, पत्रकार तथा साहित्यकारले प्रियदर्शीको स्मरण गर्दै उनको योगदानको चर्चा गरे ।

उनको सालिकमा फूल तथा मालाले माल्यार्पण गर्दै उनलाई सम्झिइएको हो ।सभामा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवन श्रेष्ठले साहित्य, पत्रकारिता तथा राजनीतिमा उनको योगदानको चर्चा गरे । साहित्य र पत्रकारितामा प्रियदर्शी आफ्नो अभिभावक समेत भएको सुनाउँदै श्रेष्ठले सिन्धुपाल्चोकले एउटा प्रतिभा गुमाएको बताए । उनले प्रियदर्शीको विभाजित खुशीहरू कविता वाचन गरेर श्रद्वा व्यक्त गरे ।

प्रियदर्शी नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका पूर्वउपाध्यक्ष हुन् ।उनले विप्लव, सिन्धु सन्देश लगायत पत्रिका सम्पादन समेत गरे । संवाददाताले लेखेका समाचारहरू कम्तीमा ३÷४ पटकसम्म सम्पादन गरेर सरल भाषा शैली प्रियदर्शीले पस्कने गरेको अध्यक्ष श्रेष्ठले स्मरण गरे।

उनी साहित्यमा उत्तिकै अब्बल थिए । उनका कविताहरू निकै चर्चामा छन् । एकै रातको बसाइमा उनले निकै उत्कृष्ट नाटकहरू लेख्ने गरेको पनि श्रेष्ठले सुनाए ।

स्मृति सभामा प्रियदर्शीका भाइ सुजन बुढाथोकी, अग्रज पत्रकार सुरेश कसजू, पत्रकार महासंघका सचिव विदुर आचार्य, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विदुर गिरी, नेपाल प्रेस युनियनका अध्यक्ष किशोर बुढाथोकी, उपाध्यक्षद्वय निरोज चौलागाई र कमला पाख्रिन, प्रेस सेन्टर नेपालका पूर्व अध्यक्ष दिनेश दुलाल र निवर्तमान अध्यक्ष दिपक खत्री, पत्रकार दिपेन्द्र घले लगायतले उनको सालिकमा माल्यार्पण गरे ।

सभामा प्रियदर्शीका भाइ सुनिल बुढाथोकीले परिवारले एक कुशल अभिभावक गुमाएको बताए । उनले प्रियदर्शीलाई सम्झिएकामा सबैलाई धन्यवाद दिए ।सशस्त्र युद्धका क्रममा प्रियदर्शीको २०५९ वैशाख १६ गते निधन भएको थियो । सिन्धुपाल्चोकको जलवीरमा उनको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्