२०८१ भाद्र २३
                           

विषादी प्रयोग न्यूनिकरणका लागि चासो

बैशाख २०। दैनिक उपभोग गर्ने तरकारी र फलफूलमा रसायनिक विषादीको प्रयोग पछिल्लो समय बढ्दो छ। नेपालमा कृषि व्यावसायीकरणसँगै बढ्न गएको विषादीको आयात, किनबेच र प्रयोगले मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव बढ्न थालेपछि जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले विषादी प्रयोग न्यूनिकरणका लागि गम्भीर चासो दिएको छ ।
फलफूल, तरकारी र खाद्यान्नमा विषादीको प्रयोगले जनस्वास्थ्यमा परेको प्रत्यक्ष असर र विषादी प्रयोग न्यूनीकरण गर्नका लागि कार्यालयले सरोकारवालहरुबीच अन्तरकृयात्मक बैठकको आयोजना गरेको हो ।

विहीबार कार्यालयद्वारा जिल्ला समन्वय समिति सिन्धुपाल्चोक चौताराको सभाहलमा आयोजित सरोकारवालाहरुसँगको सहकार्यमा पोषण प्रवद्र्धन तथा विषादी न्यूनिकरण सम्वन्धि बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका योजना अधिकृत जयबहादुर महत्राले बढ्दो विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर परेको उल्लेख गर्नुभयो ।

कार्यपत्र नै प्रस्तुत गर्दै उहाँले कृषिमा १६३ किसिमको विषादी प्रयोग हुँदै आएको जानकारी दिंदै प्रतिवन्धित २४ प्रकारको विषादी पनि किसानहरुले प्रयोगमा ल्याएकोमा दुख व्यक्त गर्नुभयो । विषादीको बढ्दो प्रयोगले उपभोक्ता मात्र नभई प्रयोगकर्ता र विक्रेतासमेत यसको मारमा परेको बताउनुभयो । विक्रीको क्रममा सुरक्षा नअपनाउँदा विक्रेता र प्रयोग गर्दा लापरवाहीका कारणले प्रयोगकर्ता पनि विषादीको मारमा परेको अधिकृत महत्राको भनाइ थियो ।

बैठकमा कुपोषणबाट बँच्न पोषण प्रर्वद्धन कार्यक्रमको आवश्यकता रहेको भन्दै जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले विषादीको प्रयोग आत्महत्याको लागि पनि हुँदै आएकोतर्फ उपभोक्ता, सरोकारवाला र विक्रेताहरुलाई ध्यान आकर्षण गर्नुभयो । पोषण प्रवद्र्धन तथा विषादी न्यूनिकरणका लागि अर्को कार्यपत्र प्रस्तुत गर्दै उहाँले कृषिका लागि भन्दै विषादी खरिद गर्ने र सोही विषादी सेवन गरेर आत्महत्या गर्ने क्रम पनि बढ्दो रहेको उल्लेख गर्नुभयो । पोषण प्रर्वद्धन गर्दै विषादी न्यूनिकरण अभियान हरेक पालिकामा सञ्चालन गर्न पालिकाहरुले आगामी वर्ष योजना बनाउनु पर्ने उहाँको राय थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारीले विषादी प्रयोग न्यूनिकरणका लागि हरेक पालिकाले सचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउनुभयो । आम उपभोक्ता, विक्रेता, प्रयोगकर्ता र सरोकारवालाहरुबीच सचेतनात्म कार्यक्रम गर्न सकेमा उत्पादनमा जोडिने किसान, विषादी विक्री वितरण गर्दै आएका विक्रेता र उपभोक्ता सबै सचेत हुने र न्यूनिकरणको मार्ग प्रसस्त हुने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीको भनाई थियो ।

समन्वय अधिकारी गोमा ढकालले कृषिमा विषादीको प्रयोगले बजारदेखि भान्छासम्म बीसको विगविगी बढेको भन्दै मानव स्वास्थ्यका लागि बेलामा नै सचेत हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले घरेलु विषादी प्रयोगका लागि किसानहरुलाई प्रोत्साहन गर्नुपर्ने औल्याउनुभयो । १२ वटै पालिकाको कृषि र भेटनरी अधिकृत एवम् प्रविधिक लगायत विक्रेताहरुको समेत सहभागिता रहेको कार्यक्रममा विषादी प्रयोगबाट हुने असर र सुरक्षित प्रयोग गर्नुपर्नेमा गरमागरम बहस भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्