२०८१ भाद्र २३
                           

कैदी बन्दीहरुको स्वास्थ्य परिक्षण

जेठ ४, सिन्धुपाल्चोक । जनस्वास्थ्य कार्यलय सिन्धुपाल्चोकले कारागार कार्यलयमा स्वास्थ्य परिक्षण कार्यक्रम गरेको छ । विश्व उच्च रक्तचाप दिवसको अवसरमा कैदी र बन्दीहरुको स्वास्थ्य जाँच गरिएको हो । शुक्रबार कारागार कार्यलयमा भएको कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै  सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले कारागारमा रहेकाहरुको पनि स्वास्थ्य परिक्षण गर्न जरुरी रहेको बताए । उनले कैदी र बन्दीहरुलाई अनुशासित भएर आफ्नो स्वास्थ्य  परिक्षण गराउन निर्देशन दिएका थिए ।

दिवसको अवसर पारेर उच्च रक्तचाप बाट हुने दुर्घटना हुन नदिने उद्देश्यले परिक्षण गरिएको जन स्वाथ्य कार्यलयका प्रमुख दुर्गा बजगाईंले बताइन । जिल्ला प्रशासन कार्यलयको अनुमती लिइ सो कार्यक्रम सन्चालन गरेको हो ।  कारागारमा पनि स्वास्थ्य परिक्षण आवश्यक देखिएकाले समन्वय गरेर स्वास्थ्य परिक्षण गराउन सहयोग गरेको  कारागार प्रमुख जेलर राम बहादुर साहीले बताए ।

जन स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकको आयोजनामा  र कारागार कार्यलय सिन्धुपाल्चोकको सहयोगमा कार्यक्रम भएको हो । यस स्वास्थ्य परिक्षणमा उनिहरुको सुगर, प्रेसर, उचाई, तौल जाँच लगायत जनरल स्वास्थ्य परिक्षण गरिएको हो । ३० वर्ष माथिका उमेर समुहका ९१ जना कैदी बन्दी हरुको चौतारा अस्पताल र जल्बीरे प्राथमिक अस्पतालका डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेका हुन् ।

स्वास्थ्य परिक्षणका क्रममा दुई जनाको स्वास्थ्यमा गम्भिर देखिएकाले जिल्ला बाहिर रहेका सम्बन्धित अस्पतालमा  रिफर गरिएको जन स्वास्थ्य कार्यलयका तिब्र शर्माले जानकारी दिइन् । उनीहरुमध्ये एक जनालाई क्षय रोग र अर्कालाई मुटु रोग देखा परेको हो ।

हाल कारागार  चौतारामा १ सय ४० जना कैदी र बन्दीहरु छन् । उनिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यसपाली बन्दी गृहभित्र परिक्षणको ब्यवस्था गरेको जनस्वास्थ्य कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । यस कार्यालयले स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्