२०८१ भाद्र २३
                           

बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको समस्या बढ्दै

जेठ ४, सिन्धुपाल्चोक । बैदेशिक रोजगारबाट फर्किएका महिलाहरुको समस्या बढ्दै गएको भन्दै  सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । शुक्रबार बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुन ः एकीकरण कार्यक्रम – २०७९ को प्रभावकारी, समावेशी र दीगो कार्यान्वयन विषयक एक अन्तरकृयात्मक कार्यक्रममा उनीहरुले बैदेशिक रोजगारीबाट फर्केका महिलाहरुको समस्या र आर्थिक विकासका लागि स्थानीय सरकार मौन रहेको बताएका हुन  ।

एकातिर वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुन ः एकीकरण कार्यक्रम २०७९ कार्यान्वयनमा स्थानीय सरकार उदासिनता रहेको र अर्कोतिर विदेशबाट फर्किएका आदिवासी जनजाति महिलाहरुमा सामाजिक, आर्थिक र मानसिक समस्या बढ्दै गएको उनीहरुले निचोड सुनाए ।

बैदेशिक रोजगारीबाट फर्किएका आदिवासी जनजाति महिलाहरुको सशक्तिकरणका लागि कार्य गर्दै आएको र आयोजक संस्था राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी अध्यक्ष माला राइले पुन एकीकरण कार्यक्रम २०७९ लाई मुख्य एजेण्डाको रुपमा स्थानीय सरकारसँग प्रस्तुत गर्नुपर्ने धारणा राखिन् । उनले देशको आर्थिक विकासमा प्रवासी महिलाहरुको महत्वपूर्ण सामाजिक आर्थिक योगदानको बाबजुद पनि विघटित तथ्याङ्कको अभाव रहेको उल्लेख गरिन् । तथ्याङ्क अभावकै कारण आप्रवासीहरुका लागि समावेशी नीतिहरु निर्माण नभएको गुनासो गरिन ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले बैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुमा सामाजिक र मानसिक समस्या बढ्न थालेको प्रति  समयमै सचेत हुनुपर्ने बताए ।

अडानपत्र मार्फत चौतारा साँगाचोकगढी नगरपालिकालाई ध्यानाकृष्ट गर्नका लागि आयोजित कार्यक्रममा विदेशबाट फर्किएका आदिबासी जनजाति महिलाहरुको बाक्लै उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्