२०८१ भाद्र २३
                           

प्रचण्ड क्याविनेटका मन्त्रीमा सबैभन्दा ‘धनी’ रघुवीर, नारायणकाजी ‘गरिब’ 

जेठ ८, काठमाण्डौ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित २३ मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आज सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार २३ मन्त्रीमध्ये सबैभन्दा धनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ देखिएका छन् ।

मन्त्री महासेठको नाममा जनकपुरमा १ विगाह १५ कट्ठा जग्गा रहेको छ भने २ करोड २५ लाख बैंकमा पैसा रहेको उल्लेख छ । उनले पैतृक सम्पत्ति बेचेर सम्पत्ति आर्जन गरेको विवरणमा उल्लेख गरेका छन्। मन्त्री महासेठसँग ४३ तोला सुन र १.५ केजी चाँदी रहेको छ। श्रीमती जुलिकुमारीको नाममा फाइनान्स, लघुवित्त, बैंक गरी २ करोड ५० लाख नगद र ५ लाख सेयर रहेको उल्लेख गरेका छन्।

जुलिकुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिकामा ३ कट्ठा, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाम, धनुषामा ७ विगाह ३ कट्ठा, सिन्धुलीमा ४ कट्ठा, ललितपुरमा १ रोपनी ७ आना, धनुषमा ३ कट्ठा ११ धुर रहेको विवरणमा उल्लेख छ । श्रीमतीको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाखको सेयर रहको छ । उपप्रधानमन्त्री महासेठ नेकपा एमालेका सचिव समेत रहेका छन्।

यस्तै, सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार सबैभन्दा गरिब उपप्रधान तथा परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठले देखिएका छन्। मन्त्री श्रेष्ठको गोरखा सिरानचोक ८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ। त्यो पनि २०५८ सालमा पार्टीमा हस्तान्तरण घोषणा गरिएको र प्रक्रियामा रहेको श्रेष्ठले उल्लेख गरेका छन् ।

सिंहदरबारस्थित रावा बैंकको खातामा तलब सुविधाको १ लाख २२ हजार ९१८ रूपैयाँ मौज्दात छ। प्रधानमन्त्री समेत नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि चढ्न दिएको महिन्द्रा गाडी आफूसँग रहेको उल्लेख गरेका छन्। मन्त्री श्रेष्ठ नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष पनि हुन्।

प्रतिक्रिया दिनुहोस्