२०८१ भाद्र २३
                           

गणतन्त्र दिवसको अवसरमा चलचित्र तथा वृत्तचित्र प्रदर्शनी गर्ने

जेठ ११, काठमाडौँ । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा पारेर सञ्चार रजिष्ट्रारको कार्यालयको समन्वयमा निर्मित चलचित्र तथा वृत्तचित्र प्रदर्शनी गर्ने भएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर जेठ १४ गते बागमती प्रदेशले फरक-फरक लेखक तथा निर्देशकको लघु चलचित्र प्रदर्शन गर्न लागेको हो । बागमतीका सञ्चार रजिष्ट्रार रेवती सापकोटाका अनुसार हेटौँडास्थित नारायणी मलको चलचित्र घरमा १४ गते सोमबार साँझ ५ बजे श्रीधर न्यौपानेद्वारा लिखित तथा निर्देशित ‘फाइट फर आइडेन्टीटी’, कृष्ण प्रसाद धितालको ‘एप्रोन’, अमृत श्रेष्ठको ‘आकाश’ र पुरुषोत्तम बस्नेतको ‘घटेरो’ प्रदर्शन गरिने छ । सञ्चार रजिष्ट्रार कार्यालयले लघु चलचित्र लेखन तालिम प्रदान गरेर सो तालिममा उत्कृष्ट भएका कथामा बनेका लघु चलचित्र र वृत्तचित्र प्रदर्शन हुन लागेको हो । चलचित्र निर्माणमा कार्यालयले प्रोत्साहन स्वरुप सहयोग गरेको सञ्चार रजिष्ट्रार सापकोटाले बताए । सोही स्थानमा श्रृजना दुवालको ‘वापचा’सहित विभिन्न विषयका वृत्तचित्रहरुको पनि प्रदर्शन हुने रजिष्ट्रार कार्यालयले जनाएको छ ।

लघु चलचित्र प्रदर्शनीसँगै प्रदेश सरकारले अन्य कार्यक्रम पनि आयोजना गरेको छ । जेठ १३ गते मैत्रीपूर्ण खेलकुद कार्यक्रम तथा गणतन्त्र दिवस विषयक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता हुने छ । यस्तै १४ गते सार्वजनिक रक्तदान कार्यक्रम, वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । त्यसै गरी १५ गते नगर क्षेत्रको विशेष सरसफाइ तथा सोही दिन हेटौंडाको भुटनदेवी मा.वि को चौरमा भेला भई स्कूल रोड-बुद्धचोक-चौकिटोल-मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणसम्म व्याण्ड बाजा सहितको प्रभातफेरी आयोजना र मुल समारोह हुने प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्