२०८१ भाद्र २३
                           

धुलिखेल–खावा खण्ड भोली पनि बन्द हुने

जेठ १२, अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि बन्द भएको छ । सडक स्तरोन्नति जारी रहेकाले शनिबार र आइतबार दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो ।सडक डिभिजन कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गर्दै उक्त खण्ड भएर यात्रा गर्ने यात्रु र सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, सडक डिभिजन भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै अरनिको राजमार्ग (धुलिखेल–जिरोकिलो–खावा खण्ड) शनिबारदेखि दुई दिन दिउँसोको समयमा बन्द रहने जनाएको हो ।

राजमार्गको धुलिखेल जिरोकिलो–खावा खण्डमा थप मर्मत तथा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, सरोकार भएका निकाय तथा स्थानीयकाबीच यही जेठ ७ गते उक्त खण्ड दुई दिनसम्म बन्द गर्ने निर्णय भएसँगै शनिबार र आइतबार बन्द गरी स्तरोन्नति थालिएको सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी एवं इञ्जिनियर सुमन बस्नेतले जानकारी दिए ।

बैठकको निर्णयअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म र भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दमकल, एम्बुलेन्स, शववाहन र सुरक्षा निकायका सवारीसाधनबाहेक सबै किसिमका यातायात सञ्चालन पूर्णरुपमा बन्द रहने उनले जानकारी दिए ।बन्द अवधिभर वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यलाई सहयोग गरिदिन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ । सो समय अवधिमा काठमाडौँ–बनेपा हुँदै पाँचखालतर्फ जाने सवारीसाधनका लागि होराइजन होटल हुँदै आगन्तुक होटल–रविओपी हुँदै पाँचखालको बाटो प्रयोग गर्न आग्रह सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्