२०८१ भाद्र २३
                           

स्तन तथा पाठेघर क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अशोक पराजुली/साँगाचाेक- काठमाडौं मोडेल हस्पिटल काठमाडौं र राधा गिरी पण्डित हरि पण्डितको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ कार्यालय,साँगाचोक आधारभूत स्वास्थ्य तथा प्रसुती केन्द्रको सहयोग र समन्वयमा साँगाचोकमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।
आज साँगाचोक स्थित साँगाचोक आधारभूत स्वास्थ्य तथा प्रसुती केन्द्रमा आयोजना गरिएको शिविरमा १५२ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका नगर स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा महिलाको पाठेघरको क्यान्सर र स्तन क्यान्सरबारे परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरिएको थियो । शिविरमा नगर अन्तर्गत वडा नम्बर १०,११,१२,१३ र १४ बाट महिलाहरु परिक्षणको लागि आएका थिए ।

सो शिविरमा काठमाडौं मोडेल हस्पिटल काठमाडौंका चिकित्सक डा.निरभा न्यौपाने,डा.कृपा छेत्री लगायतको चिकित्सक र स्वास्थ्यकर्मीको टिमले स्वास्थ्य परीक्षण गरेको थियो ।

शिविरमा १५२ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा ४ जना महिलाको भिआइए टेस्ट गर्दा तुरुन्तै हस्पिटलमा उपचारको लागि जानुपर्ने देखिएको र अन्य ४ जनामा समेत सामान्य समस्या देखिएकोले अस्पतालमा चेकजाँच गर्नुपर्ने अवस्था देखिएको डा. निरभा न्यौपानेले बताउनुभयो ।

चौतारा साँगाचाेकगढी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य शिविरको अवलोकन गर्नु भएको थियो । सो अवसरमा नगर प्रमुख सापकोटाले जनताका स्वास्थ्य समस्या चुनौतीपूर्ण रहेको बताउँदै नगरपालिकाले पनि जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी विभिन्न स्वास्थ्य परिक्षण शिविर,जेष्ठ नागरिक स्वास्थ्य परिक्षण शिविर जस्ता कार्यक्रम नगरका सबै वडामा गर्दै आएको बताउनुभयो । उहाँले नगरपालिका जनताको हरेक समस्या समाधानमा खटिँदै आएको बताउनुभयो ।

सो स्वास्थ्य शिविरमा चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रामप्रसाद गौतम,वडा नम्बर ४ का वडा अध्यक्ष एवं पुर्वाधार विकास समितिका संयोजक कुमार शर्मा,नगर कार्यपालिका सदस्य सीता पौडेल,नगर शिक्षा समिति सदस्य दधिराम पराजुली,जुगल बहुमुखी क्याम्पस साँगाचाेकका क्याम्पस प्रमुख पदमप्रसाद पराजुली लगायतको सहभागिता थियो ।

महिला स्वास्थ्य परिक्षण शिविर चौतारा साँगाचाेकगढी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष दीपेन्द्रप्रसाद नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्