२०८१ भाद्र २३
                           

व्यवस्थासँगै अवस्था परिवर्तनका लागि सिन्धुपाल्चोकको महत्त्वपूर्ण भूमिका: प्रचण्ड

१६ जेठ, सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थासँगै अवस्था परिवर्तनका लागि सिन्धुपाल्चोकको महत्त्वपूर्ण भूमिमा रहेको बताएका छन् ।

आज ‘चौतारा अस्पताल’को चीन सरकारको सहयोगमा निर्मित अत्याधुनिक भवन उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धको कठिन समयमा यहाँका जनताबाट पाएको माया स्मरण गरे । “म थुप्रैपटक सिन्धुपाल्चोक आएको छु, जनयुद्धको कठिनतम् दिनहरूमा मैले यहाँका गाउँवेसी चहारेको छु, यहाँका भीरपाखाहरू छिचोलेको छु,” प्रचण्डले भने, “बृद्ध आमाहरूले मायाले पकाएर दिनुभएको खोलेफाँडो खाएर क्रान्तिको मोर्चामा लामबद्ध भएको छु ।”

विसं २०७२ सालको महाभूकम्पले धरासायी बनाएको चौतारा अस्पतालको पुनःनिर्माण प्रक्रिया अघि बढाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भवन निर्माण भएसँगै खुलाचौरमा र टेण्टभित्र स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता अन्त्य भइ अस्पतालको सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे ।

देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गरे । “शारीरिक तथा मानसिकरूपमा सबल, सक्षम र स्वस्थ नागरिकहरूको प्रयत्नबाट मात्रै कतिपय देशहरू हरेक क्षेत्रमा फड्को मार्न सफल भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “यही कुरालाई मनन गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ र गणतन्त्र प्राप्तिको छोटो अवधिमा स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार भएको छ।”
“प्रदेश सरकारको नीति तथा कार्यक्रमले समेत यसलाई अघि सारेको छ, त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,” प्रधानमन्त्री प्रचण्डले भने । उनले पछिल्ला दिनहरूमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने “गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ ।” उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्‍याउने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्त्वका कार्यक्रम अघि सारेको जानकारी दिए ।

कार्यक्रममा पूर्व सभामुख अग्निप्रसाद सापकोटा, सांसद माधव सापकोटा नेपालका लागि चिनियाँ राजदूत छन सोङ, बागमती प्रदेशका मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र अस्पताल आवद्धहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्