२०८१ भाद्र २३
                           

तातोपानी सडक खण्डको स्तरोन्नतिका लागि चीन तयार,चिनियाँ राजदूत सोङ्

१७ जेठ, सिन्धुपाल्चोक । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले बाह्रबिसे तातोपानी सडक खण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताएका छन् । मितेरीपुलसम्म पुग्ने सडक र नाका व्यवस्थापन बारे चिनियाँ राजदूतसहित तातोपानी भन्सार कार्यालयमा बुधबार बेलुका भएको सर्वपक्षीय छलफलमा राजदूत सोनले सो प्रतिवद्धता जनाएका हुन् । उनले नेपालले पनि सडक सुधारका लागि बजेट छुटएको सन्दर्भमा दुवै देशले मिलेर बाटो व्यवस्थित गर्न सकिने बताए ।

पहिरो र अप्ठेरो सडकहरुको अध्ययनका लागि नयाँ प्राविधिकहरु पठाउने जानकारी गराउँदै राजदूत सोङ्ले चीनबाट अत्याधुनिक उपकरणहरु पठाएर निर्माणमा सघाउने बताए ।जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद माधव सापकोटा सुबोधको अग्रसरतामा देशकै महत्वपूर्ण व्यापारिक तातोपानी नाका सञ्चालन, व्यवस्थापन एवं नाका पुग्ने सडकको स्तरोन्नतिबारे तातोपानी भन्सार कार्यालयमा सर्वपक्षीय छलफल राखिएको थियो । नेपाल र चीनबीचको मित्रवत सम्बन्धको चिनो मितेरीपुल रहेको नाका र सडकको स्थलगत अवलोकन साथै व्यवस्थापन, सन्चालनलगायतका बिषयमा छलफल भएको हो । सांसद सापकोटाले यस पटकको बजेटमा नेपाल सरकारले सो सडक स्तरोन्नतिका लागि १ अर्व २० करोड विनियोजन गरेको जानकारी दिंदै दुबै देशले मिलेर काम गर्न प्रस्ताव गरेका थिए । छलफलका क्रममा सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन श्रेष्ठले नेपालले तयार गरेको सडक स्तरोन्नतिको डिपिआर प्रस्तुत गरेका थिए ।

छलफलमा सांसद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत सोङ्, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटा, भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पा, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, भन्सार प्रमुख, डिभिजन सडक कार्यालय प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

छलफलपछि राजदूत सोङ ट्वीट गर्दै चीन र नेपाललाई जोड्ने मित्रताको प्रतीक झाङ्मु र तातोपानी नाकामा रहेको मितेरी पुलको भ्रमण गर्न पाउँदा धेरै खुसी लागेको बनाएका छन् । उनले निरन्तर बढ्दो सामान र मानिसको आवतजावतले खुसी बनाएको बताउँदै बन्दरगाहमा कार्यरत दुबै देशका अधिकारीहरुलाई धन्यवाद दिएका छन् । उनले तातोपानी नाका नजिकै नेपाली जनतासँग खुला छलफलमा सामेल हुन पाउँदा र तातोपानी नाकामा भएको व्यापार र मानिसहरुको आवतआजत कसरी सहज बनाउने भन्ने बारे स्थानीयको सल्लाह सुन्न पाउँदा खुसी लागेको बताएका छन् । नेपालीहरुको हँसिलो अनुहारको उनले खुलेर प्रसंसा समेत गरेका छन् । तातोपानी पुगेका राजदूतलाई स्थानीय र व्यापारिले स्वागत र सम्मान गरे ।

लामो समय बन्द रहेर २०८० भदौ १५ गतेदेखि मानव सहित दोहोरो आवत जावत खुलेको तातोपानी नाकाको पूर्ववत सञ्चालन गर्न नेपालतर्फको सडकका कारण चुनौति रहेको सन्दर्भमा बर्षातको समय सुरु हुनु अघि छलफल भएको हो । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नाका पुग्ने सडकको स्तरोन्नति चीनले गरिदिने विषयमा भएको सहमतीका सन्दर्भमा चिनियाँ पक्षसँग पटक पटक छलफल भएपनि कार्यान्वयन हुन सकेको छैन । छलफलबाट नाका व्यवस्थापन र सडकको स्तरोन्नतिका लागि भएको सहमती कार्यान्वयमा जाने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्