२०८१ भाद्र २३
                           

विद्यालय शिक्षा सुधार्न टोलटोलमा समिति

रामकृष्ण थापा-

तातोपानी/ विद्यालय र शिक्षाको अवस्था सुधार्न अभिभावकलाई जागरुक पार्ने र जनप्रतिनिधिलाई जिम्मेवारीबोध गराउने अभियान सुरु गरिएको छ ।

भोटेकोसी गाउँपालिकाको केन्द्रमा अवस्थित झिर्पु माध्यमिक विद्यालयले टोलटोलमा समिति गठन गरेर नयाँ अभियान सुरु गरेको हो । विद्यालय सुधारमा साथ, सक्रिय अभिभावकको हात भन्ने नारा तय गरेर गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले अभियानको उद्घाटन गरेका छन् ।

प्रत्येक टोलमा जनप्रतिनिधि र अभिभावक सम्मिलित तीनदेखि पाँच जनाको समिति गठन गरिएको छ । हालसम्म सातवटा टोलमा समिति गठन भएको झिर्पु मावि व्यवस्थापन समितिका अध्यक्ष आङ्छिरी शेर्पाले बताए । भोटेकोसीका पाँचवटै वडाका बालबालिका झिर्पुमा अध्ययन गर्न आउँछन् । तर, भौगोलिक कठिनाइले विद्यालय छोड्ने बढ्दै गएपछि अभियान सुरु गरिएको हो । ‘भौगोलिक बिकटता, बाढीपहिरोको जोखिम र विद्यालय शिक्षाको गुणस्तर सुधार्न टोलसमिति बनाएका हौं, शेर्पाले भने । जनजाति बाहुल्य रहेको भोटेकोसीमा कुनै टोलमा मानिसको मृत्यु हुँदा, घेवा, विभिन्न भोज र विवाह पर्दा गाउँ सिंगैले एकै थलोमा खाना खाने परम्परा भएकोले बालबालिकालाई खाना खानकै समस्या पर्ने गरेको छ । खाना ढिला हुँदा उनीहरु विद्यालय आउँदैनन् । बर्खा याममा बाढीपहिरोमा पर्ने डरले टाढाटाढाका बालबालिका विद्यालय आउन सक्दैनन् । सबै टोलका बालबालिकालाई विद्यालय कक्षामा नियमित गराउन टोल समितिले महत्वपूर्ण भूमिका खेल्नेछ । चिनियाँ भाषाको कक्षासमेत सञ्चालनमा रहेको यस विद्यालयको शैक्षिक सुधारमा टोलसमिति निर्माणले राम्रो काम गर्ने अपेक्षा राखेको गाउँपालिकाले जनाएको छ । समितिले विद्यालयलाई सल्लाह दिने र आफ्ना बालबालिकामाथि निगरानी राख्नेछ ।

प्रतिक्रिया दिनुहोस्