२०८१ भाद्र २३
                           

कलाङमलाङमा झोलुंगेपुल निर्माणपछि सातगाउँ तामाङ समुदाय लाभान्वित

रामकृष्ण थापा-

जुगल गाउँपालिकाको बिकट तर सातगाउँ तामाङ र दलित बस्ने ‘लाइफ लाइन’ क्षेत्र कलाङमलाङ खोलामा झोलुंगेपुल बनेपछि यहाँका तीन हजार पाँच सय जनसंख्या लाभान्वित भएका छन् ।

स्थानीय सरकार, संघीय सरकार, स्वाप नामक गैरसरकारी संस्थाको आर्थिक सहयोग र स्थानीय जनश्रमदानबाट ६४ मिटर लामो पुल निर्माण भएको हो । झोलुंगेपुल निर्माण भएपछि सेलाङ, सेभगाउँ, किप्चे, गोल्चे, निम्लुङ, सञ्चगाउँ र लिदीका तीन हजार तीन सय तामाङ र दुई सय दलित समुदाय गरी ३५ सय जनसंख्या लाभान्वित भएका हुन् ।

पुल निर्माणका लागि गाउँपालिकाबाट पाँच लाख ६८ हजार, संघीय सरकारबाट लठ्ठा, बुल्डग र ग्रिप्स अनुदान दुई लाख ५३ हजार, दातृसंस्था स्वापबाट ३४ लाख ६५ हजार र श्रमदानबाट ८७ हजारसहित ४३ लाख ५० हजारमा पुल निर्माण सम्पन्न भएको हो ।

कलाङमलाङमा पुल नहुँदा बर्खाको समयमा खोला तर्न बाध्य जुगलवासी दुर्घटनामा परी ज्यान गुमाएको घटना सम्झँदै गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले भने, ‘पुल निर्माणसँगै आगामी दिनमा घरगोठ, घाँसदाउरा, नातेदारको घर जाँदा हुनसक्ने दुर्घटना रोकिन्छ ।’

झोलुंगेपुल बनेपछि बर्खाको दैनिकी खतरामुक्त र सहज भएको उनले बताए । पालिकाको वडा नं. १ सेलाङबाट हिँडेर लिदी पुग्न एकदिन पूरा लाग्छ । बिगत वर्षको बर्खायाममा सदरमुकाम चौतारा आएर घर पुग्न धौधौ हुन्थ्यो । पुल निर्माणपछि सरकारी काम लिएर सदरमुकाम आएका लेकाली भेगका तामाङ समुदाय समयमै घर पुग्न सक्नेभएका छन् । यही पुल भएर लेकाली क्षेत्रमा उत्पादन भएका आलू, मुला, जडीबुटी, स्लेटढुंगा, सेभगाउँको घर छाउने कालो ढुंगा सदरमुकाम आइपुग्छ ।

प्रतिक्रिया दिनुहोस्