२०८१ भाद्र २३
                           

चौतारा अस्पतालको सेवामा सुधार, छिटै नयाँ भवनबाट सेवा दिन्छौ : डा. रुद्रमणि भण्डारी

चौतारा अस्पतालका नि. मेडिकल सुपरिटेन्डेन्ट डा. संग गरिएको कुराकानी  ।

डाक्टर सावको परिचय ?

नमस्कार ! म डा. रुद्रमणि भण्डारी । मेरो घर गुल्मी जिल्ला हो । हाल चौतारा अस्पतालमा गत चैत १ गते देखि नि. मेडिकल सुपरिटेन्डेन्टको रुपमा कार्यरत छु ।

चौतारा अस्पतालको संक्षिप्त परिचय दिनुहोस् न ?

चौतारा अस्पताल सिन्धुपाल्चोक वि.सं २०३१ सालमा स्थापना भएको अस्पताल  हो । यो सुरुमा चाँही १५ शैयाको रुपमा स्थापना भएको अस्पताल  ।

सुरुमा नगरपालिकाले सहयोग गरेको त्यसपछि प्रदेश आइसकेपछि प्रदेशको समाजिक विकास मन्त्रालय अन्तरगत  जिल्ला अस्पताल हुदै अहिले प्रदेश अस्पताल अन्तरगत लिइएको मानिन्छ ।

२०८० पुसमा बागमती प्रदेश सरकार मन्त्रिपरिषद तथा स्वास्थ्य मन्त्रालयले यस अस्पताललाई १५ शैयाबाट ५० शैयामा स्तरोन्नती गरेको छ ।  त्यही अनुसारको दरबन्दीहरू  स्वीकृत पनि भएको छ ।

अहिले ६३ जनाको दरबन्दी स्वीकृत छ । अहिले कार्यरत हाम्रो डाक्टरहरु १४ जना हुनुहुन्छ जसमध्ये एक जना हाडजोर्नी रोग विशेषज्ञ र अर्को चाँही समान्य शल्य क्रिया डाक्टर हुनुहुन्छ बाँकी सर्जन, मेडिकल अफिसर र डेन्टल अफिसर हुनुहुन्छ ।

चौतारा अस्पतालमा उपलब्ध सेवाहरु ?

यो अस्पतालमा विशेष गरी सामान्य ओपीडी सेवाहरु भयो । जनल सर्जरी सेवा, अर्थोपेडिक सेवा, इमर्जेन्सी सेवा, आईपिडी सेवा जुन विरामी भर्ना गरेर राखिन्छ अनि ओसियाम्सीहरु छ । साथै समाजिक सेवा इकाइहरु, फिजीयो थेरापी सेवा भर्खरै सुरु गरेका छौ यी लगायत धेरै सेवाहरु प्रवाह भइरहेको छ ।

चौतारा अस्पतालमा पहिला र अहिले उपचार सेवा र कार्य सम्पादनमा के फरक छ ?

पहिला १५ बेडको थियो । त्यो हुदा जनशक्ति, स्रोत साधनहरु सिमित थिए जब ५० बेडमा जाँदै गर्दा हामीसंग त्यही अनुसारको स्रोत साधनहरु आवश्यक पर्ने हुन्छ । प्रदेश सरकारले पनि दरबन्दी थप गरेको छ । म

आएको धेरै समय त भा छैन छोटो समयमा बुझ्दै गर्दा पहिलाको १५ शैया र अहिले ५० शैयामा स्तरोन्नती भएको सन्दर्भमा कुरा गर्दा पहिला भएका इमर्जेन्सी सेवा, जनरल ओपीडी सेवाहरु नियमित नै छन् त्यस बाहेक अहिले अर्थोपेडिक (विशेषज्ञ सेवा) जनरल सर्जरी ( माइनर र मेजर अप्रेसन) हुन्छ । साथै अहिले हाम्रो अस्पतालमा CEONC कार्यक्रमबाट ASBA तालिम प्राप्त डाक्टर हुनुहुन्छ जसले गर्दा नर्मल डेलीभरी Normal Delivery र Cesarean Section(CS) हुदै आइरहेको छ ।

अर्को विगत डेढ वर्ष देखि रोकिएको फिजीयो थेरापी सेवा हामिले स्थानिय सरकार संग समन्वय गरेर चौतारा साँगाचोक गढी नगरपालिकाको आर्थिक सहयोगमा थेरापिस्ट नियुक्ती गरेर प्रभावकारी रुपमा अगाडी बढाइरहेका छौ । मलाई लाग्छ पहिला यो सेवा लिन धुलिखेल, काठमाण्डौ गइरहनु भएको थियो भने अहिले चौतारा बासीले घरबाट आवाज जावत गरेर यो सेवा लिइरहनु भएको छ ।

साथै प्रदेश सरकारको कार्यक्रम मध्य मानसिक स्वास्थ्य र नाक , कान र घाँटीको विशेषज्ञद्वारा चेकअप हुन्छ । ९८ प्रकारका निशुल्क पाइने औषधि पनि प्रदान गरिरहेका छौ । अस्पतालको आफनै औषधि पसल पनि छ ।

अर्को महत्वपुर्ण कुरा पहिला कागजमा मेडिकल रिपोर्ट अभिलेख राख्ने सिस्टम हटाएर कम्प्युटर मार्फत अनलाइनमा गर्न सुरु गरेका छौ । जसलाई इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ भनिन्छ ।यो प्रदेश अस्पतालको नमुनाको रुपमा काम गरेका छौ ।

यस अस्पतालमा पहिलाको तुलनामा सेवा लिन आउने विरामीको संख्या बढेको हो ?

पहिला भन्दा बढ्दो रुपमा पाइएको छ विरामीको संख्या  । पहिला दैनिक १२० देखी ३० को रेन्जमा हुन्थ्यो ओ.पी.डी. मा भने अहिले विरामीहरु २ सय माथि छन् । अब पहिला अपरेसनको केसमा अनि डेलिभरी गराउन धुलिखेल वा काठमाण्डौ जानु पर्ने अवस्था थियो अहिले चाँही यही हुन्छ ।

विरामीहरु बढ्नुमा दुइ वटा पक्षहरु छन् । एउटा अस्पतालले दिइरहेको सेवामा जनताको विश्वास र अर्को यहाँको ब्यवस्थापकिय पाटोले पनि म्याटर गर्छ । हामिले दिइएको सेवा र जनताको विश्वास भएपछि अस्पतालमा सेवा लिने विरामी बढ्छ नै ।

चौतारा अस्पतालमा खासै सेवा सुविधा पाइदैन, रिफर सेन्टर जस्तो भन्ने जन गुनासो छ नी ?

मैले पनि सुरुमा आउँदा सुनेको कुरा हो । तर अहिले अस्पतालको स्तरोन्नती र सेवा सुविधा विस्तार भएसंगै यस्तो अवस्था नभएको महशुस हुन्छ । किन भने पहिला सामान्य प्लास्टर गर्न, सुत्केरी गराउन अन्यत्र जानुपर्ने अवस्था थियो । अहिले त्यस्तो छैन । तथापि अझै पनि हाम्रो दरबन्दी अनुसारको दक्ष जनशक्ति फुल फिल हुन सकेको छैन ।

हामी संग भएको जनशक्ति, स्रोत साधनलाई भरपुर उपयोग त गरिरहेका छौ । हामी संग बिमा पनि छ । बिमाबाट पनि भर्ना गर्ने उपचार गर्ने गरिरहेका छौ । त्यस्तो ठूलो अप्रेसन र यहाँ हुन नसक्ने कुरा त रिफर गर्नै पर्ने हुन्छ ।

सामान्य र इमर्जेन्सी स्वास्थ्य सेवा जुन प्राथामिक स्वास्थ्य सेवाबाट नागरिकले पाउनुपर्छ भन्ने संविधानमा नै उल्लेख गरेका कुरा नैसर्गिक अधिकारको रुपमा लिइएको छ । यो कुरालाई यहाँका स्थानिय तह बाट र हाम्रो प्रदेश अन्तरगतको अस्पताल भएका हुनाले हामि भरपुर आफ्नो तहबाट लागि परेका छौ ।

चौतारा अस्पतालप्रति यहाँका समुदाय र नागरिकको विश्वास बढाउन के गर्नुहुन्छ ?

यहाँका जनताको विश्वास र जनभावनालाई ध्यानमा राखि अस्पतालबाट प्रवाह भइरहेको सेवालाई अझ चुस्तदुरुस्त रुपमा लैजाने  र यहाँको हाम्रा व्यवस्थापनलाई राम्रो गर्ने सोच छ । कतिपय कुराहरु सुधार गर्ने क्रममानै छौ ।

किन कि सुधार एकैदिनमा हुने कुरा हैन । अर्को नयाँ सेवाहरु हेमोडाइलसिस सेवा केही हप्ता भित्रमा सुरु गर्दैछौ । यसका लागि आवश्यक पर्ने उपकरणहरु र सामग्री तयारी भइसक्या छ ।

आवश्यक दक्ष जनशक्ति दुई जना स्टापनर्स तालिम लिएका अलरेडी हुनुहुन्छ । बाँकी एक डाक्टर र नर्स ट्रेनिङमा भएकाले केहि दिनमै आउनुहुन्छ । त्यस लगतै हामी हेमोडायलाइसिस सेवा सुरु गर्छौ मलाई लाग्छ डायलाइसिस गर्न अन्त धाइरहन पर्ने दुख अन्य हुन्छ ।

अस्पतालको नयाँ भवनले सेवा प्रवाहमा सहज हुन्छ, कहिलेसम्म सर्ने तयारी छ ?

कुनै पनि ठाउँमा कुनै पनि सेवा सन्चालन गर्न भौतिक संरचना आवश्यक हुन्छ । यस अघि हामीलाई संरचनाको आवश्यक थियो । हामि प्रि फाइव अस्थाई साँघुरो संरचनामा विभिन्न सेवा डिपार्टहरु चलाइरहेका छौ ।

अहिले पनि हाम्रो प्रशासन जनस्वास्थ्य कार्यलयको भवनमा छ । भर्खरै जेठ १६ गते नेपाल र चिन सरकारबीच भएको सम्झौता अनुसार चिनको सहयोगमा ३९ कोठाको भवन बनेको र उद्घाटन र हस्तान्तरण भइसकेको छ । हामि त्यो भवनमा सर्न तयारी गरिरहेका छौ ।

अस्पतालको नियमित सेवा बाहेक समुदायको हित हुने खालका प्रत्यक्ष जोडिने त्यस्तो कुनै कार्ययोजना छ ? कार्यान्वयन गरिएको छ, छैन ?

अस्पताल भनेको झट्ट हेर्दा उपचार गर्ने ठाउँ मात्र देखिन्छ । यसलाई क्युरेटिभ पार्ट भनिन्छ । हाम्रो मेडिशन फिल्डमा  दुइवटा पार्ट हुन्छ, एउटा प्रेभेन्टीभ अर्को क्युरेटिभ । र जनता संग जानका लागि हामीले प्रेभेन्टीभलाई हेर्नुपर्ने हुन्छ ।

जसमा जनचेतनाका कुराहरु हुन्छ , पब्लिक अवार्नेसका कुराहरु हुन्छ । वस्तीसम्म र जनतासम्म पुगेर त्यहाँका तात्कालीन समस्याहरु कसरी सम्बोधन गर्न सकिन्छ, जस्तै जिल्लामा १२ वटा पालिकाहरु र यहाँका स्वास्थ्य शाखाहरु छन् यसको प्रमुखहरु हुनुहुन्छ ।

प्रदेश र स्थानीय  तहको पुलको काम गर्नका लागि समुदायमा हेल्थ क्याम्पहरू राख्न सकिन्छ जसले गर्दा त्यहाँको स्क्रिनिङ जस्तो हुनसक्छ । त्यहाँ सकिने कुराहरु त्यही सम्बोधन गर्ने र बाँकी हाम्रो अस्पताल सम्म ल्याएर उपचार गर्न सकिन्छ । यसले गर्दा नि नागरिकलाई र स्वास्थ्य संस्थालाई धेरै राहात हुनसक्छ ।

अर्को जनतासँग स्वास्थ्यसँस्थाको एउटा भावनात्मक सम्बन्ध पनि बढ्छ । विश्वास र समन्वय पनि बढ्छ । सचेतनाका कार्यक्रम गर्न सक्छौ ।

अर्को बागमती सरकारको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम केहि वर्ष देखि सन्चालन भइरहेको र प्रभावकारी बढदै गइरहेको देखिएको छ । जसमा ३० वर्ष माथि उमेर समुहका व्यक्तिहरु लाभान्वित छन् । प्रत्येक साता शुक्रबार विहान ८ बजेदेखि नियमित भइरहेको छ । अहिलेसम्ममा ६ सय भन्दा बढीले यो सेवा लिएको तथ्यांक छ ।

स्वास्थ्य बिमा किन आवश्यक छ ?
स्वास्थ्य बिमालाई अझ प्रभावकारी रुपमा अगाडी बढाउनु पर्छ । तपाईहरुको सन्चार माध्यामबाट पनि म के आग्रह गर्न चाहान्छु भने प्रत्यक नागरिकलाई बिमामा आवद्ध गराउनु पर्छ ।

यसबाट चाहिने आवश्यक सेवाहरु लिनुपर्ने हुन्छ जुन नागरिकको हितमा छ । बिमामा उल्लेख भएका औषधिहरु पनि हामिले वितरण गरिरहेका छौ ।

अस्पतालमा ब्लड बैक छ ?
मैले सुरुदेखि नै उठाएको कुरा हो । ब्लडको मौज्दात हुनुपर्छ । यहाँ चाँहि ब्लड बैंकको अभाव छ । यस ठाउँका सरोकारवालाहरुसँग छलफल गरेर अस्पतालमा ब्लड बैंक स्थापना गर्न पहल भइरहेको छ । साथै हाम्रो तर्फबाट प्रदेशमा पनि भनिरहेका छौ ।

सिन्धुपाल्चोक विपद जोखिम जिल्ला मानिन्छ त्यसो हुदाँ जनस्वास्थ्यको सवालमा अस्पतालको पूर्व तयारी के छ ?

पक्कै पनि यो विपद भन्ने कुरा कहिले पनि आर्लम बजाएर आउँदैन । सिन्धुपाल्चोक जिल्ला प्राकृतिक प्रकोपको हिसाबले जोखिमको रुपमा हेरिएको छ । र यसभन्दा अगाडी बाढी, भुकम्पले र पहिरोले यो क्षेत्रको बस्ती र जनसंख्यालाई धेरै प्रभाव पारेको छ ।

यसका लागि जिल्ला विपद ब्यवस्थापन समितिमा पनि छौ । त्यसमा हाम्रो तर्फबाट गर्ने कुराहरु प्रतिबद्धता जनाइसकेको छ । प्रदेश अन्तरगतको कार्यलय भएका हुनाले हाम्रो विशेष गरी क्युरेटिभ पाटहरू हुन्छ ।

जसमा र्यापिट रेस्पोन्स टिम हुन्छ त्यसको नेतृत्व अस्पतालले गरिरहेको छ । यसमा डाक्टरहरु प्यारामेडिक्स, हेल्पर र म्यानेजमेन्ट टिम हुन्छ ।

जहाँ आपतकालिन अवस्था हुन्छ त्यो ठाउँमा हामीले स्वास्थ्यको तर्फबाट के गर्नुपर्छ २४ घण्टा उपलब्ध हुन्छ । अस्पतालमा छुट्टै एक स्टोर पनि छ जहाँ आवश्यक सामग्रीहरु छ र त्यही अनुसारका दक्ष जनशक्ति पनि तयारी छ । आबश्यक स्वास्थ्य सामग्री , औषधि र अन्य समाग्री हामीले केही मौज्दात राखेका छौ ।

अस्पतालको सेवा निरन्तर प्रभावकारी बनाउन के गर्नुपर्ला ?
यो अस्पतालले दिने सेवा सुविधा भनेको यहाँका जनताका लागि हो । तालुक निकाय यो नै हो भन्दा पनि हाम्रो भनेर सबै लागियो भने यहाँका जनता, जिम्मेवार ब्यक्ति, बुद्धिजीवी, राजनितिक दल, तीन वटै सरकार र हामी सबै स्वास्थ्यकर्मी लागि पर्यौ भने यहाँबाट दिने सेवा सुविधा र अस्पतालप्रति जनताको विश्वास बढ्दै जानेछ । सबैको सहभागीता समन्वय हुनुपर्छ । र भएका सेवालाई निरन्तरता दिने, नयाँ सेवाहरु थप्दै जानुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्